बागलुङ । बागलुङ समाज पोखराको २५औँ वार्षिक साधारणसभा तथा रजत वर्षको अवसर पारेर आयोजित १३ औँ अधिवेशनबाट नरेश सुवेदी अध्यक्षमा चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा गङ्गा बहादुर पुन, सचिवमा बालकृष्ण सापकोटा, सहसचिवमा प्रकाश मल्ल, कोषाध्यक्षमा कोपिला श्रीस रहनु भएको छ ।
सदस्यहरूमा रुद्रबहादुर श्रीस, गोमा कार्की बाँस्कोटा, रमेश विक, दुर्गबहादुर खत्री, सूर्यबहादुर थापा र हिरा थापा चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभाका उप–सभामुख विनाकुमारी थापाले पोखरामा बस्ने बागलुङवासीको सुख दुखको साथीका रुपमा समाज स्थापित भएको बताउनुभयो । उहाँले जन्मेको भुगोलले जोडेको सम्बन्धलाई थप प्रभावकारी बनाउन समाजले सिर्जनात्मक तथा रचनात्मक कामहरुलाई अगाडि बढाउदै आएको र आगामी दिनमा थप प्रभावकारी बनाउन सुझाव दिनुभयो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लावासीहरुका तर्फबाट गरिएको कार्यक्रममा सहभागी हुन पाउदा खुशी व्यक्त गर्दै समाजका सकारात्मक तथा रचनात्मक गतिविधिमा सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा उपसभामुख थापा र प्रमुख जिल्ला अधिकारी शर्मालगायतले समाजद्वारा रजत जयन्तीको अवसरमा प्रकाशित ‘रजत जयन्ती स्मारिका’ सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा समाजमा आबद्ध चार जना ज्येष्ठ नागरिकहरू–चिरञ्जिवी श्रेष्ठ, उपेन्द्रराज पन्त, बमबहादुर छन्त्याल र रामप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।
त्यस्तै, प्रेमप्रसाद स्मृति अक्षयकोष र हरिलाल कँडेल स्मृति अक्षयकोषमार्फत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका पूर्वअध्यक्षहरू कुलचन्द्र शर्मा, सुनिल पाण्डे, डिल्लीप्रसाद शर्मा, ढाकाराम पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साधारणसभामा सचिव गंगबहादुर पुनले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । दुवै प्रतिवेदन छलफलपछि पारित गरिएको सहसचिव कोपिला श्रीसले जानकारी दिनु भयो ।
समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नरेश सुवेदीले स्वागत र सचिव गङ्गबहादुर पुनले सञ्चालन गर्नुभएको थियो ।