• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

आज चैते दशैं : कालिका मन्दिरमा भक्तजनको घुइँचो

  • २०८२ चैत्र १२, बिहीबार

बागलुङ । आज चैत्र शुक्ल अष्टमी अर्थात चैते दशैं । चैते दशैको मुख्य दिन गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिर दर्शनका लागि भक्तजन घुँइचो लागेको छ । बिहान चारबजेबाटै मन्दिर दर्शनको व्यवस्था मिलाइएको छ । दुई वटा लाइनमा बसेर भक्तजनले मन्दिर दर्शन गरिरहेका छन् ।

वडा दशैं भन्दा चैते दशैंमा बढी दर्शनार्थी आउने भएकाले कालिका मन्दिरमा दर्शनार्थीलाई लाईनमा बसेर पुजा आजा गर्ने व्यवस्था मिलाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्क्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो । श्रदालु चढेका सवारीसाधानलाई मन्दिरको पार्कीङ क्षमताले नथेगेपछि बाङ्गेचौर खेल मैदानमा पठाइएको छ ।

मंगलबारदेखिनै चैते दशैं मेला समेत आयोजना गरिएको छ । मन्दिरमा सबैभन्दा बढी भक्तजन चैते दशैंका अवसरमा आउने गरेका छन् । कालिका मन्दिरमा बडा दशैं भन्दा चैते दशैंमा बढी भक्त आउने गरेको र यसपटक भक्तजनको संख्या बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिनुभयो । मन्दिरमा अष्टमीमा सबैभन्दा बढी भक्तजन आउने गरेको पाइएको छ । चैतेदशैंको मुख्य दिन चैत १२ गते बिहीबार मन्दिरमा पूजा–अर्चनाका लागि आउने भक्तजनको सुरक्षामा सुरक्षाकर्मी बाक्लो गरी खटाइएको र सिसि क्यामेराले निगरानी गरिएको छ ।

तीन सय वर्ष भन्दा पहिलेदेखि मन्दिर परिसरमा चैते दशैंको अवसरमा मेला लाग्दै आएको छ । यस मन्दिरमा गुठीले व्यवस्थापन गरेसँगै व्यापारिक स्टल, रमाइलो मेला लगायतका संरचना निर्माण गरेर मंगलबारबाट मेला आयोजना गरेको हो । मेला चैत १४ गते सम्म चल्नेछ । चैते दशैंको प्रतिपदादेखि रामनवमीसम्म करिब १० लाख भक्तजन आउने अनुमान गरिएको छ ।

मेलाका अवसरमा कालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता तथा छेलो प्रतियोगिता भइरहेको छ ।
मेलामा सांस्कृतिक कार्यक्रम समेत हुनेछ । मेलामा गाउँबाट किसानहरूले वर्षभरि तयार पारेका काठ, ठेका, बाँसुरी र बाँस र निगालोका सामग्री बिक्री भइरहेको छ । विसं १५९१ देखि यस मन्दिरमा पूजा हुँदै आएको छ ।

किंवदन्तीअनुसार पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्वदेवीसँग विवाह गर्दा कालिका देवीलाई साथमा ल्याई यहाँ स्थापना गरिएको मानिन्छ ।

  • २०८२ चैत्र १२, बिहीबार