• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

ढोरपाटनमा १४ नाउर र १० झारलको सिकार चल्दै

  • २०८२ चैत्र १४, शनिबार

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार चलिरहेको छ ।
ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको छ । दोस्रो सिकार यामका रुपमा रहेको फागुन–वैशाख याममा सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तरखरमा रहेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार यस वर्षको दोस्रो याममा १३ बनेलको समेत सिकार गर्न अनुमती दिइएको थियो । ढोरपाटन आरक्षले विभिन्न सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा सिकार गर्न दिइएकोमा अहिले ग्लोबल सफारी प्रालिमार्फत आएका अमेरिकी नागरिकले एक नाउर र एक झारल सिकार खेलेर फर्किएको र हिमालयन सफारी नेपालमार्फत आएका अमेरिकन र डेनिस नागरिक ढोरपाटनमा सिकारमा व्यस्त रहेको सुवेदीले जानकारी दिनुभयो ।

विदेशी सिकारीले नाउर र झारलको सिकारका लागि प्रतिस्पर्धाका आधारमा राजश्व बुझाएर अनुमती पाएका थिए । दोस्रो यामको सिकार चलिरहेकाले आरक्षका कर्मचारी र नेपाली सेना सिकार ब्लकमा सिकारीसंग व्यस्त भएको रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो ।

दोस्रो याममा हिमालयन वाइल्डलाइफ आउट फिटरमार्फत डेनिस नागरिकले एक नाउर, एक झारल र एक बनेल सिकार खेल्न फागुने ब्लकमा अनुमति पाएको छ । यस्तै ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक प्रालि मार्फत अमेरिका, बेल्जियम र फ्रान्स नागरिकले सुनदह र सेङ ब्लकमा तीन नाउर, दुई झारल र एक बनेल सिकारको अनुमती पाएको छ ।
यस्तै नेपाल ट्राभल एक्पेडिसन प्रालिमार्फत घुस्तुङ ब्लकमा तीन नाउर, तीन झारल र तीन बनेल सिकार खेल्न रसियन, अफ्रिकन र फ्रान्स नागरिकले सिकार खेल्ने तयारीमा नेपाल आइरहेका छन् ।

यस्तै ग्लोबल सफारिज प्रालि मार्फत सुनदह र दोगाडी ब्लकमा अमेरिका, डेनिस नागरिकले चार नाउर, २ झारल र ४ बनेलको सिकार गर्न अनुमती पाएको छ । यस्तै हिमालयन सफारिज नेपाल प्रालि मार्फत अमेरिकी नागरिकले दुई नाउर, एक झारल र दुई बनेल सिकारको अनुमती पाएकोमा एक नाउर र एक झारलको सिकार भइसकेको छ भने ट्रेक एण्ड देलर्स प्रालि मार्फत स्पेनी नागरिकले एक झारल, एक नाउर र एक बनेलको अनुमती पाएको सुवेदीको भनाई छ ।
चालु वर्षको पहिलो सिकार याममा तीन करोड तीन लाख राजस्व संकलन भएकोमा दोस्रो सिकार यामको सिकारी आउनेक्रम जारी रहेकाले राजश्व संकलनको काम भइरहेको छ ।

“१४ नाउर, १० झारल र १३ बनेलको सिकार खेल्न विभागले अनुमती दिएकोमा अहिले सम्म एक नाउर र एक झारलको सिकार भइसकेको र अन्य केही सिकारी सिकार खेल्न व्यस्त भएको र केही सिकारी नेपाल आउने क्रममा रहेको छ” सुवेदीले भन्नुभयो “पहिलो सिकार याममा एउटै नाउरको १९ लाख र झरलको १८ लाख सम्म राजश्व संकलन भएको थियो, दोस्रो याममा कम मुल्यमा सिकार अनुमती पाएको भएपनि सिकारीहरु आउनेक्रममा रहेकाले सिकार याम सकिएपछि मात्रै राजश्वको जानकारी आउछ ।”

सिकारीहरु बन्दोबस्तीका सामग्रीसहित गत फागुन दोस्रो साताबाट नेपा आउन थालेका थिए । विदेशी सिकारी हेलिकप्टरमार्फत सोझै सिकार ब्लकमा पुग्ने गरेका छन् । सिकार खेल्ने क्रममा नेपाली सहयोगी सहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने गरेका छन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिर र दोस्रो सिकार याम फागुन–वैशाख गरी दुई चरणमा सिकार हुँदै आएको छ । विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ ।

जङ्गलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बन्दै आएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको छ । विदेशी तथा धनाढ्यको रोजाईमा मात्रै पर्दै आएको सिकार खेल्ने अवसर नेपालीले पाएका छैनन् । सिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाले गर्दै आएको छ ।

विंस २०४४ सालमा स्थापना भएको सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भएपनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ ।

  • २०८२ चैत्र १४, शनिबार