• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

फेरियो चैते दशैं, लोप हुँदै मौलिक भाका

  • २०८२ चैत्र १५, आईतवार

 

‘चैते दशै मेलैमा
झर्छ आँशु छुट्ने बेलैमा’

चैते दशैको विषयलाई समेटेर गायक बिमराज क्षत्री, टिका क्षत्री र र सर्मिला गुरुङले २२ वर्ष अघि गाएको गितको अंश हो यो ।

बागलुङको चैतै दशै मेलाका रुपमा मात्रै नभई प्रेम र प्रेमिकाको भेट्ने छुट्ने मौकाको रुपमा रहेको गितले पुष्टी गर्दछ । चैते दशै मेलामा भेटिएका पुन अर्को मेलामा भेट्ने बाचाका साथ छुटेको भावलाई गायक क्षत्रीले धेरै पहिले गीतमा उतार्नूभएको थियो ।

‘चैते दशैं बागलुङे मैलैमा
लाईदेउ माया भेट भाको बेलामा’

यस्तै गायक टिका क्षेत्री प्रकृतिले देढ दशक भन्दा पहिला गाएको गितले अंशले समेत चैते दशैंमा भेट्ने र माया पिरती लगाउने कुरालाई पुष्टी हुन्छ । यो गितमा भनेजस्तै स्थानीय उत्पादनको खरिद बिक्रि संगै माया पिरतीका लागि समेत चैते दशैं मेला प्रख्यात हो । चैते दशैको अवसरमा यस वर्ष बागलुङ कालिका मन्दिर परिसरमा मंगलबारबाट चैते दशै मेला लागिरहेको छ ।

चैते दशै मेला फेरिएजस्तै चैतैदशैं संग सम्बन्धीत रहेका मौलिक भाकाहरु समेत फेरिएका छन् । चैते दशैमा गाइने लोकदोहरीमार्फत सयौ कलाकार समेत बागलुङले जन्माइसकेको छ । ऐतिहासिक पुरानो मेलाको रुपमा रहेको चैते दशै मेला पछिल्लो समय फेरिएको पाइन्छ । चैते दशैको अवसरमा गाइने मौलिक भाकाहरु समेत हराएका छन् भने रमाइलो मेलामा आकर्षण बढेको छ । मेलामा मौलिक झकााकीहरु देखाएपनि यसपटकबाट भने लोक दोहोरी प्रतियोगितानै नभएको हो ।
चैते दशैंमा कालिका मन्दिर दर्शन गर्न आउने र वर्षभरीलाई आवश्यक सामाग्री खरिद विक्रि गर्नेकार्य समेत परिवर्तन भएको छ । चैतेदशैको अवसरमा गाइने ‘एउटो पैसो कहिलेलाई चैते दशैंलाई भन्ने गित’ लोप भइसकेको छ । यस्तै ‘रेरे साइलो’, ‘यानीमया’, ‘ठाडो भाका’ र सालैजो’ जस्ता मौलिक भाका सुन्नै छोडिएको छ । अहिले आधुनिक गीतले मेलालाई गिजोलेको स्थानीय जानकार काजी गाउँले श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले आयातित सामाग्री खरिद विक्रि गर्ने र रेकर्ड गरिएका गीतमा नाँच गान गर्ने गरिन्छ । मेलामा हालिने लिङ्गे पिङ र चर्खेपिङको सट्टामा अहिले रमाइलो झुला (आधुनिक पिङ) राखिएको छ । चैते दशै मेलाको मौलिकता फेरिएको स्थानीय ८२ वर्षदेखि मेलालाई अवलोकन गर्दै आउनुभएको स्थानीय दुर्गा आचार्यले मेला को मौलिकता फेरिएको बताउनुभयो । स्थानीय घनश्याम सापकोटाका अनुसार मेलामा प्लाष्टिकका सामाग्रीको खरिद बिक्री बढेकाले ठेका तथा डालोको बिक्री कम भएको बताउनुभयो । “रातभरी रेरे साइलो, सालैजो गीत गाएर जाग्राम बसिन्थ्यो, अहिले त कलकारहरुले साँझमा आउने ट्रयाकमा गाउने चलन छ, पहिला जस्तो मौलिकता मेलाको छैन, गाउँ–गाउँमा मेला पर्वहरु लाग्न थाले, चैते दशै मेलाप्रतिको चाख घटेको छ तर मन्दिर दर्शनार्थीहरुको संख्या, बढेको छ ।”

चैते दशैं मेला र बागलुङ कालिका मन्दिरसंगै जोडिएर आउँछन् । यहाँको प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर यस क्षेत्रकै चिनारीको रुपमा रहेको छ ।

चैते दशैं मेला बागलुङको मौलिक परम्परा जस्तै बनेपनि आधुनिकताको प्रभावले मौलिकता जोगाउन कठिन भएपनि हनुमान नाच र सालैजो जस्ता झाँकी देखाइएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काले बताउनुभयो । तीन सय वर्ष पुरानो हनुमान नाच देखाइएको बताउदै रातमा जाग्राम बस्नेच चलन हराइसकेको बताउनुभयो । “ठेका, डालो र नाङ्लो जस्ताको स्टलललाई निःशुल्क गरेका छौं तर उनिहरुको भन्दा खानपानको स्टलहरु बढी चलेको देखिन्छ” खड्काले भन्नुभयो “भजन, रत्यौली र यानीमया जस्ता गित गाउने प्रशाय गरेपनि यस पटक लोक दोहोरी प्रतियोगिता गर्न नसकिएको हो ।”

मन्दिर वरपर पाल टाँगेर स्थानीय उत्पादन, कोदो, मकै, धान, चामाल, भाँङ्गो, डाला, नाङ्ला, ठेका, आँसी, बाउसा, मान्द्रो, थुन्से, मादल भाडाँ कुडा लगायतका दैनिक उपभोग्य बस्तुहरु खरिद बिक्रि हुँने गरेकोमा अहिले खेलौना सामाग्री र मदिरा र खानाका परिकारहरु बढी बिक्री वितरण हुँने गरेको पाइएको छ । मेलामा स्थानीय उत्पादनहरुको स्टलहरु देख्न सकिएपनि न्यूनतम कारोबार भइरहेको बडिगाड गाउँपालिकाबाट चोयाका सामाग्री बिक्री गर्न मेलामा आउनुभएको सन्तोष विश्वकर्मा बताउनुभयो ।

  • २०८२ चैत्र १५, आईतवार