• २०८३ आश्विन ३०, शुक्रबार
  • 2026 October 16, Friday

मिडिया मेलामा कि नोट स्पिच : पत्रकारिताको भविष्यबारे मन्थन

  • २०८२ चैत्र २२, आईतवार

बागलुङ । बागलुङ मिडिया मेलाको प्रमुख आकर्षकको रुपमा थियो कि नोट स्पिच । उद्घाटन सत्रमा नेपालकै एक अनुभवी पत्रकार उज्ज्वल आचार्यको पत्रकारिताको भविष्य बारेको कि नोट स्पिच सबैले ध्यान दिएर सुने । सन् २००१ देखि पत्रकारिता शुरू गर्नुभएका आचार्य संवाददातादेखि डिजिटल सम्मका अनुभवी पत्रकार हुनुहुन्छ ।

बीबीसी, अन्नपूर्ण पोस्ट, रिपब्लिका दैनिक, दि काठमाण्डौँ पोस्ट र नेपाल समाचारपत्र दैनिकमा संवाददातादेखि डिजिटल सम्पादकको रूपमा काम गरिसक्नुभएको आचार्यले अबको पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाबारे आफ्नो धारणा व्यक्त गर्नुभयो । उहाँले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा देखिएका नयाँ चुनौतीहरूबारे जानकारी दिनुभएको थियो ।

बागलुङमा आयोजित ‘बागलुङ मिडिया मेला २०८२’ मा अबको पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाबारे व्यापक छलफल गरिएको छ । कार्यक्रममा वक्ताहरूले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारितामा देखिएका नयाँ चुनौतीहरूबारे ध्यानाकर्षण गराएका छन् ।

कि नोट स्पिचको प्रमुख वक्ताको रुपमा रहनुभएका बोल्दै सीएमआर नेपाल जर्नलिजम एकेडेमीका निर्देशक उज्ज्वल आचार्यले सूचना प्रविधिको विकासले सूचना उत्पादन, वितरण र उपभोगको स्वरूप नै परिवर्तन गरेको बताउनुभयो । उहाँका अनुसार अहिलेको पत्रकारिता संक्रमणकालीन अवस्थामा रहेको भन्दै जहाँ सूचना धेरै भए पनि विश्वास घट्दो क्रममा रहेको बताउनुभयो ।

उहाँले पत्रकारितासामु तीन प्रमुख चुनौती देखिएको बताउदै सूचनाको अत्याधिकता तर विश्वसनीयताको कमी, डिजिटल प्लेटफर्मको बढ्दो शक्ति तर जिम्मेवारीको अभाव र मिडियाको टिकाउ आर्थिक मोडलको संकट यी चुनौतीहरूको समाधान खोज्दै पत्रकारितामा अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

आचार्यले राम्रो पत्रकारिताको आधार सत्यको खोज, प्रमाणमा आधारित रिपोर्टिङ र सार्वजनिक हित भएको उल्लेख गर्दै यी मूल्यहरू हराए पत्रकारिता नै कमजोर हुने चेतावनी दिनुभयो । प्रविधि, एल्गोरिदम र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दै गए पनि पत्रकारिताको मूल आधार भने यिनै सिद्धान्त भएको उहाँले बताउनुभयो ।

उहाँले मिडिया साक्षरताको अभावले पनि पत्रकारितामा समस्या थपिएको उल्लेख गर्नुभयो । सामाजिक सञ्जालका कारण हरेक व्यक्ति प्रकाशक जस्तो बनेको अवस्थामा सत्य र असत्य सूचना छुट्याउन नसक्दा गलत सूचना फैलिने जोखिम बढेको उहाँको भनाइ थियो। यसले नागरिकको मिडियाप्रतिको विश्वास कमजोर बनाउने खतरा रहेको उहाँले बताउनुभयो ।

“पत्रकारिता यस्तो मोडमा पुगेको छ, समस्या धेरै देखिएका छन्, समाधानको बाटो देखिएको छैन, शक्तिशाली प्लेट फर्म जिम्मेवार छैनन् मिडियाको दीगोपना देखिएको छैन” आचार्यले भन्नुभयो “तरुन साप्ताहिकबाट थालिएको पत्रकारिता सिएमआर सम्म आइपुग्दा पत्रकारिता धेरै बद्लिएको छ, सुचनाकारिता पत्रकारिता होइन, सोसल मिडिया मिडिया होइन, समाचार र सामाजिक सन्जालको विचार छुट्टउान नसक्दा समस्या भयो, राज्यले सुचना राक्षरता दिन आवश्यक छ ।”
अबको पत्रकारितामा डिजिटल ज्ञान र सीप अनिवार्य भएको आचार्यले बताउनुभयो । पत्रकारहरूले नयाँ प्रविधि प्रयोग गर्न चाहेको भए पनि सिक्ने अवसर सीमित रहेको उहाँको अनुभव छ । पत्रकारहरूको क्षमता विकासका लागि प्रभावकारी तालिम र सीप विकास कार्यक्रम आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

मिडिया मेलामा सहभागीहरूले पत्रकारितालाई समयानुकूल बनाउँदै विश्वसनीयता कायम राख्न पत्रकार, मिडिया संस्था र राज्य सबैको साझा प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रममा पत्रकारिता क्षेत्रका वर्तमान चुनौती र समाधानका सम्भावनाबारे विभिन्न दृष्टिकोणबाट छलफल गरिएको थियो ।

युनेस्को नेपालमा पनि दुई वर्ष काम गर्नुभएका आचार्य नेपालको पहिलो तथ्यजाँच संस्था साउथ एशिया चेकको शुरूवाती वर्षमा डिजिटल कन्सल्टेन्टका रूपमा काम गरेको अनुभव छ । आचार्य हाल सिएमआर नेपाल जर्नालिज्म एकेडेमीमा निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ ।

 

  • २०८२ चैत्र २२, आईतवार