सम्पादकीय : नेपालले आज जे नियति र बदलाव बेहोरिरहेको छ, यसमा मुख्य कारण राजनीति, कर्मचारीतन्त्र हो । यसबाहेक अरु धेरै सहायक कारण छन्, जसले असन्तुष्टि र आक्रोशको आगो बाल्नमा पेट्रोल थप्ने काम गरेका छन् । यसमा क्याम्पस र विश्वविद्यालयमा कार्यरत प्राज्ञिक व्यक्तित्वहरु पनि संलग्न छन् । अध्ययन बिदामा विदेश गएका त्रिविका प्राध्यापकहरु उतै लुक्ने मात्र होइन, यही भएकाहरु पनि राजनीति र सत्ताको आडमा मनमौजी गर्नेहरु धेरै छन् । जसले ‘प्राज्ञिक’ पदवीकै बदनाम गरिरहेको छ भने प्राज्ञिक थलो विश्वविद्यालय र क्याम्पसमाथि पनि असंख्य प्रश्नहरु उब्जाइरहेका छन् । अहिले नयाँ वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार आएको छ । यो सँगै ‘प्राज्ञिक’ शिक्षक, कर्मचारीहरुको बदमासीको विषयमा खोज, अध्ययन हुन थालेको छ । बालेन शाह नेतृत्वको सरकारले शैक्षिक क्षेत्रमा व्याप्त राजनीतिक बेथिति अन्त्य गर्ने पहलकदमी पनि लिएको छ ।
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा ३ वर्षभन्दा बढी ५ वर्षसम्मको अध्ययन बिदा र उक्त विदा उपभोग गरेका शिक्षकले फर्केर कम्तीमा ५ वर्ष सेवा गर्नुपर्ने उल्लेख छ । त्रिविको नियममै शिक्षक लगातार ९० दिनसम्म विनासूचना क्याम्पस वा कार्यालयमा अनुपस्थित रहेमा सेवाबाट हटाउने वा बर्खास्त गर्न सकिने व्यवस्था छ । तर, मानविकी तथा सामाजिकशास्त्र संकाय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानका धेरै प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेका छन् । ३९८ जना प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेकोमा मानविकी तथा सामाजिकशास्त्र संकायमा ११४ जना, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा १०६ जना र इन्जिनियरिङ अध्ययन संस्थानमा ९९ जना छन् । वन विज्ञान अध्ययन संस्थानमा २८ जना, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा १३ जना, चिकित्साशास्त्र अध्ययन संस्थानमा ९ जना, शिक्षाशास्त्र संकायमा ९ जना, व्यवस्थापन संकायमा १९ जना र कानुन संकायमा १ जना प्राध्यापक रहेका छन् ।
शिक्षकहरु अध्ययन बिदामा विदेश जाने र उतै लुक्ने गरेको तथ्य २०८१ मंसिरमा सार्वजनिक भएपछि त्रिविले २०८१ पुसमा त्रिविले छानबिन समिति बनाएको थियो । उक्त समितिले ६ महिना त्रिविका सबै निकायमा पुगेर खोजबिन गर्दा ४०० जना प्राध्यापकले दुरुपयोग गरेको भेटिएको थियो । तीमध्ये हालसम्म १९ जनाले मात्र रकम फिर्ता गरेका छन् । रकम फिर्ता गर्न ४५ जनाको निवेदन आएको छ । अध्ययन बिदामा गएर नफर्किएपछि १० प्रतिशत ब्याजसहित आफूले खाएको सबै रकम फिर्ता गर्नुपर्ने हुन्छ । धेरैजसो प्राध्यापकको खाएको तलबभन्दा ब्याज बढी भएपछि फिर्ता गर्न आनाकानी गरिरहेका छन् । अध्ययन बिदामा गएर प्राध्यापक नफर्किंदा त्रिविलाई २ देखि ३ अर्ब रुपैयाँ नोक्सानी भएको तथ्यांक सार्वजनिक छ । अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको संख्या बढ्दा त्रिविले आर्थिक क्षतिका साथै शैक्षिक समस्या र नैतिक नोक्सानी बेहोरिरहेको छ ।
त्रिविले अध्ययन बिदा दिने व्यवस्था आफैमा प्राज्ञिक जनशक्ति उत्पादन गर्ने सरल र सुन्दर व्यवस्था हो । तर, प्राज्ञिक तहबाटै यसको चरम दुरुपयोग हुनु दुर्भाग्यपूर्ण कुरा हो । अध्ययन बिदा सकिएपछि शिक्षक नफर्किएमा बिदामा बस्दा त्रिविको ढुकुटीबाट खाइपाइ आएको तलब भत्तामा १० प्रतिशत ब्याजसहित फिर्ता गर्ने भनेर शिक्षक कर्मचारी स्वंयम्ले गरेको कबुलियतनामा उल्लंघन गरिरहेका छन् ।
५ वर्षसम्म त्रिविको तलब खाने र बिदा सकिएपछि अमेरिका, अस्ट्रेलिया, क्यानडा तथा युरोपका विभिन्न मुलुकमा बस्ने गरेको पाइएको छ । त्रिविले विज्ञ शिक्षक उत्पादन गर्न तलबसहित दिएको अध्ययन बिदाको चरम दुरुपयोगमा अब सरकारले कडाई गर्न ढिला गर्नु हुँदैन । बालेन शाह नेतृत्वको वर्तमान सरकारले अध्ययन बिदामा विदेश गएकामध्ये नफर्किनेको बढ्दो संख्या, यसबाट भइरहेको आर्थिक क्षति, शैक्षिक समस्या र नैतिक नोक्सानीमा नजर अन्दाज गर्नु हुँदैन ।