• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

काठेखोला गाउँपालिकादेखि रेश जाने सडक कालोपत्र

  • २०८२ चैत्र २६, बिहीबार

बागलुङ । लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक कालोपत्र गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीले दुई वर्षमा सक्नुपर्ने सडक पाँच वर्ष वित्दा बल्ल कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाकै पहिलो लामो कालोपत्र सडक भएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकोमा पाँच वर्ष वित्दा बल्ल कालोपत्र भएको हो । कालोपत्र भएपछि रेश जाने यात्रुलाई सहज हुन थालेको छ । सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।

कोरोना, आर्थिक संकट र भुक्तानी जस्ता समस्या देखाउदै निर्माण व्यवसायीले पटक–पटक म्याद थप्दै सडक अलपत्र पार्दै आएको थियो । पुसमा ग्राभेल गरेको सडक चैतमा धमाधम कालोपत्र भएकाले केही दिनमै सडक सम्पन्न गर्ने तयारी निर्माण कम्पनीको रहेको काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

संघीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा निर्माण थालिएको सडक समयमै काम नहुँदा गाउँपालिकाको लागतमा कालोपत्र भएको हो । उक्त सडक गाउँपालिकाका् सबैभन्दा बढी लागतमा कालोपत्र भएको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । कालोपत्रका लागि तयार पारिएका पूर्वाधार सडक जीर्ण बन्दा बिकेका समेत थिए । २०७७ जेठमा दुई वर्षमा कालोपत्र सक्नेगरी जोशी/निशान/आचार्य जेभीसंग रु. ६ करोड ७१ लाखमा चार किमी सडक कालोपत्र र ढलान गर्ने सम्झौता गरिएको सडक समयमै काम नहुँदा छ पटक म्याद थपिएको थियो ।

निर्माण व्यवसायीले अहिले सडक धमाधम कालोपत्र गरिरहेको बताउदै गाउँपालिका अध्यक्ष राजु थापाले पालिकाले अपनत्व लिदा सडक कालोपत्र भएको बताउनुभयो । संघीय सरकारले साझेदारी गरेर ठेक्कामा गएपनि समयमै काम नहुँदा गाउँपालिकाले चार करोड लगानी गरेर सडक सम्पन्न गर्न थालेको बताउनुभयो । थापाले गाउँपालिकामा छोटा सडक कालोपत्र र ढलान भएपनि चार किमि सडक अहिले सम्मकै लामो पक्की सडक रहेको बताउनुभयो ।
काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नम्बर ७ को रेश वडा कार्यालय नजिकै कालोपत्र सकड पुगेपछि यात्रामा सहज हुने स्थानीय छत्र कार्कीले बताउनुभयो ।

गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७७ जेठमा काम थालिएको भएपनि पाँच वर्षपछि सडक कालोपत्र भएको हो । उक्त सडक बरेङ–शान्तिपुर जाने यात्रुले समेत प्रयोग गर्दै आएका छन् । लामोसमयको प्रयासपछि रेश गाउँ जाने सडक कालोपत्र भएको हो । प्रिमिक्स कार्पेट प्रविधिद्वारा उक्त सडक धमाधम कालोपत्र भइरहेको छ ।

कोराना कहर, भुक्तानीमा समस्या र कच्चा सामग्रीको अभावले काममा ढिला भएको बताउदै निर्माण व्यवसायीले छिट्टै सडक हस्तान्तरण गर्ने जनाएको छ । वर्खामा हिलो र हिउँदमा धुलाम्मे सडकले रेशका जनतालाई आजित बनाएको थियो । पाँचवर्षदेखि सडक चौडा पारेर छोड्दा हिलो र धुलोले सवारी फस्ने लगायतका समस्याले यात्रुलाई रेश पुग्न एक घण्टा समय लाग्ने गरेको थियो । सडक कालोपत्र भएपछि १५ मिनेटमै गाउँपालिकाको केन्द्रबाट रेश पुग्न सकिने भएको छ ।

  • २०८२ चैत्र २६, बिहीबार