बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा अनियमितता गरेको आरोपमा बागलुङका थापा सहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।
आयोगले जारी गरेको कास्की स्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) पोखरामा लाइसेन्स वितरण प्रक्रियामा अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गरेर मुद्दा विशेष अदालतमा दर्ता गरेको छ ।
अनुसन्धानबाट कार्यालयका तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा, तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल तथा बागलुङको गलकोट नगरपालिका–२ निवासी हिमबहादुर बस्नेत थापाको संलग्नता देखिएको जनाएको छ ।
आयोगका अनुसार उनीहरूबीच मिलेमतो गरी सरकारी अभिलेखमा नभएको पुरानो लाइसेन्सलाई अवैध रूपमा सच्याएर हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको सवारी चालक अनुमतिपत्र तयार गरिएको अख्तियारको ठहर रहेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
लाइसेन्समा गलत विवरण प्रविष्ट गरी झुट्टा कागजात तयार पारिएको र त्यसकै आधारमा प्रतिलिपि समेत प्रदान गरिएको पाइएको छ । यस कार्यमा संलग्नहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ बमोजिम कसुर ठहर गर्दै सोही ऐनअनुसार सजाय मागदाबी गरिएको आयोगले जनाएको छ ।
साथै लाभ लिने पक्षका रूपमा रहेका बस्नेत थापामाथि पनि सोही ऐनको दफा २२ अनुसार सजाय माग गरिएको छ । सार्वजनिक निकायको अभिलेखमा हेरफेर गरी अवैध लाभ लिन खोजेको न्यौपानेको ठहर छ ।