बागलुङ । बागलुङको गाउँगाउँमै राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । चैत २७ गते शुक्रवारदेखिनै बागलुङ नगरपालिकाका १५ हजार ३४, जैमिनी नगरपालिकाका ९ हजार ८ सय, ढोरपाटन नगरपालिकाका ३ हजार ४ सय ७० र बडिगाड गाउँपालिकाका ९ हजार २ सय २९ जनाको राष्ट्रिय परिचयपत्र वडा वडामै पुगेर वितरण गर्न लागिएको विभागका निर्देशक तुलसीप्रसाद दहालले जानकारी दिनुभयो ।
२०७८÷०७९ मा विभागद्वारा वडा वडामै पुगेर लिइएका आवेकहरुको मात्र परिचयपत्र वितरण हुन लागेको हो । जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको आवेदन दिएकाहरुले भने आफ्नो परिचयपत्र प्रशासनबाटै प्राप्त गर्ने छन् । बागलुङका १० वटा स्थानीय तहका १ लाख २३ हजार २ सय २७ जनाको राष्ट्रिय परिचयपत्र २ चरणमा वितरण हुने दहालले जानकारी दिनुभएको छ । विभागबाट खटिएका १७ जना पञ्जीकरण अधिकारीहरुले ६० दिनभित्र बागलुङका गाउँगाउँमा पुगेर परिचयपत्र वितरण गरिसक्ने उहाँको भनाई छ । परिचयपत्र प्राप्त गर्ने नागरिकको संख्याको आधारमा एउटा वडामा कम्तिमा १ हप्तादेखि १५ दिनसम्म समय लाग्ने उहाँको भनाई छ ।
परिचयपत्र स्वंय व्यक्तिलाई मात्र वितरण गरिने हुँदा समय बढि लाग्ने उहाँको भनाई छ । यो अभियानमा बागलुङको बरेङ गाउँपालिकामा ४ हजार ७ सय १८, गलकोट नगरपालिकामा ९ हजार ९ सय १३, काठेखोला गाउँपालिकामा ७ हजार ४ सय ८२, निसिखोला गाउँपालिकामा १० हजार २ सय ६२, तमानखोला गाउँपालिकामा ३ हजार १ सय ७५ र ताराखोला गाउँपालिकामा ३ हजार ४७ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिने छ । अभियानको क्रममा जिल्ला प्रशासन कार्यालय बागलुङमा आवेदन संकलन गरिएका २८ हजार ८ सय ३५ र इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आवेदन संकलन गरिएका १८ हजार २ सय ६२ परिचयपत्र पनि संवन्धित वडामै वितरण गरिने उहाँको भनाई छ ।
