• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

बागलुङमा क्षयरोग निवारण अभियान

  • २०८२ चैत्र २९, आईतवार

बागलुङ । बागलुङमा क्षयरोग निवारणका लागि अभियान थालिएको छ । दश स्थानीय तह रहेको बागलुङमा चार पालिकामा क्षयरोग निवारण अभियान थालिएको हो । अभियानलाई १० स्थानीय तहमा पु¥याउने लक्ष्य लिइएको छ ।
क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनिकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिका मध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग निवारण अभियान थालिएको छ ।

गत वर्षदेखि बडिगाड र गलकोटमा थालिएको अभियान यस वर्ष थप गरेर बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पु¥याइएको छ भने आगमी वर्ष क्षयरोगीको संख्या बढेको ढोरपाटन नगरपालिकामा समेत क्षयरोग निवारण अभियान चलाउन केन्द्रमा सिफारिस गरिएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक देव प्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार क्षयरोग निवारण अभियानले क्षयरोग पत्ता लगाउने कार्य भइरहँदा सर्नेदरमा कमी आएको बताउदै जिल्लामा आर्थिक वर्ष २०८१/८१ मा २६४ क्षयरोगी रहेका थिए भने चालु आर्थिक वर्षमा १४४ क्षयरोगी पत्ता लागेको बताउनुभयो । जसमध्ये गत वर्ष क्षयरोगका कारण १९ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको हाल सम्म १८ जनाको मृत्यु भइसकेको छ ।

क्षयरोग निवारण अभियानका लागि क्षयरोगी पत्ता लगाउने र उपचार गर्ने कार्यलाई अभियानमा जोडिएको छ । यस्तै पालिका देखि वडा सम्म क्षयरोग मुक्त समन्वय समिति गठन गरेर्र, टोल–टोल तहमै स्वयंसेविका परिचालन गर्दा क्षयरोगको विषयमा जानकारी पुगेको छ ।

“क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउन सक्नु नै मुख्य अभियान हो जस्का लागि क्षयरोगी पत्ता लगाउदै उपचार गर्दै जानुपर्दछ, क्षयरोग सम्बन्धी सचेतना समेत मुख्य कुरा हो, अभियानले क्षयरोगी पत्ता लगाउने दर बढेको छ, क्षयरोगी पत्ता लगाउदै उपचार गर्दै गएपछि क्षयरोगी दीगोरुपमा कम हुँदै जान्छन्” घिमिरेले भन्नुभयो “गत आर्थिक वर्षमानै जिल्लामा २६४ क्षयरोगी पत्ता लगेका थिए, भने १९ जानको मृत्यु भएको थियो, चालु आर्थिक वर्षमा १४४ जना क्षयरोगी पत्ता लागेको छ भने १८ जनाको मृत्यु भइसकेको छ , विरामीले औषधी सेवन गर्नाले क्षयरोग अरुमा सर्दैन र निर्मुलनमा सहयोग पुग्दछ ।”

क्षयरोग निवारण अभियान सञ्चालन भएको बडिगाड गाउँपालिकामा गत वर्ष ६६ जनामा क्षयरोग पत्ता लागेको थियो । बडिगाडमा अहिले क्षयरोगीको संख्या घटेर ३८ जनामा आइपुगेको छ भने क्षयरोगीको सर्वेक्षण गर्नेक्रम जारी रहेको छ ।
यस्तै गलकोट नगरपालिकामा ३४ सक्रिय क्षयरोगी रहेकोमा अभियानपछि २७ जनामा झरेको छ । यस्तै काठेखोलामा १५ क्षयरोगी रहेकोमा घटेर ५ मा झरेको छ । बागलुङ नगरपालिकामा ४० सक्रिय क्षयरोगी रहेको मा अचालु आर्थिक वर्षमा १५ मा झरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

चार पालिकामा एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउनेकार्यलाई तिब्रता दिइएकाले औषधीसेवनपछि क्षयरोगी घट्न थालेको हो । क्षयरोग पत्ता लगाउने, उपचार गर्ने, सर्ने दर घटाउने, रोकथाम गर्ने र मृत्युदर कम गरेर शुन्यमा क्षयरोगी झार्नका लागि अभियान सक्रिय भएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो । सन् २०३५ साल भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइएको छ ।

  • २०८२ चैत्र २९, आईतवार