• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

सम्पादकीय : सामान्य विवाददेखि हत्यासम्मः समाज कता जाँदैछ ?

  • २०८२ चैत्र ३०, सोमबार

नेपाली समाज शिक्षा, चेतना, जागरण, प्रविधिका हिसाबले उन्नत स्तरमा अघि बढिरहेको छ । हिजोको जुन समाज थियो, आज उल्लेखनीय परिवर्तन र बदलाव छ । तर, समाजमा हिजो हुने क्रुर हत्या र अपराधजन्य गतिविधि आजको समय र समाजमा पनि अझ डरलाग्दो रुपमा देखिन थालेको छ । सामान्य विषयमा हुने विवाद बढ्दै जाँदा हत्याको रूप लिने घटना नेपाली समाजमा बाक्लो देखिएको छ । अझ यसमा पनि सामान्य झैझगडा, यौन सम्बन्ध र सामान्य आर्थिक लेनदनमै व्यक्ति हत्याका अपराधजन्य घटना पछिल्लो केही समययता ह्वात्तै बढेको छ । यसले नेपाली समाज फेरि क्रुरतातर्फ जान थालेको र मानवीयता क्रमशः हराउन थालेको प्रतीत हुन थालेको छ ।

सामान्य विषयमा पनि तत्काल डरलाग्दो घटनामा परिणत भइरहेका छन् । यस्तो घटना पछिल्लो समय शृङ्खलाबद्ध देखिएको छ । यसको पछिल्लो उदाहारण हो, पोखरामा भएको हत्या । पोखरामा सिर्जना पौडेल केसीको हत्या होस् वा ललितपुरको पाटन क्षेत्रमा सामान्य फोन विवादबाट भएको दाजुभाइको ज्यान जाने घटना—यी उदाहरण मात्र हुन्, तर सन्देश एउटै छ । हामी असहिष्णु बन्दैछौं । झन् भयावह कुरा के छ भने यस्ता घटनामा अपरिचित होइन, आफ्नै नजिकका, चिनेजानेका, आफन्त वा पारिवारिक सदस्यहरूको संलग्नता देखिनु समाजको सम्बन्ध संरचना नै कमजोर बन्दै गएको प्रमाण हो । हिजोका दिनमा मिलापत्र वा सामाजिक हस्तक्षेपबाट टुंगिने विवाद आज छुरा, खुँडा र योजनाबद्ध हिंसासम्म पुग्नु केवल आपराधिक तथ्याङ्कको वृद्धि होइन, यो समाजको मनोविज्ञानमा आएको गहिरो विचलनको संकेत हो ।

पछिल्लो यी घटनाले नेपाली समाज एक डरलाग्दो मोडमा उभ्याएको छ । सामान्य झैझगडा, क्षणिक आवेग, सानो आर्थिक लेनदेन वा व्यक्तिगत सम्बन्धका विवादमा भइरहेका विभत्स हत्या र अपराध कुनै हिसाबले शोभनीय र स्वीकार्य छैनन् । आखिर किन यस्तो भइरहेको छ ? आर्थिक र सामाजिक असुरक्षा, बेरोजगारी, असमानता र अवसरको अभावले मानिसलाई निराश बनाइरहेको कुरा छिपेको छैन । सामाजिक सम्बन्धमा आएको क्षयिकरणले संयुक्त परिवारको विघटन, छिमेकी संस्कृतिको कमजोर हुँदै जानु र डिजिटल संसारमा बढ्दो निर्भरताले मानिसलाई एक्ल्याएको छ । सम्बन्धहरू गहिरोभन्दा सतही बन्दै गएका छन् । विश्वास घट्दो क्रममा छ भने अविश्वास र शंका बढ्दो छ, र जसले आपसी वैमनस्यता र द्वन्द्व बढेको छ । सामाजिक, आर्थिक र मनोवैज्ञानिक संकटको के कारणले भूमिका खेलिरहेको छ ? परिवारदेखि विद्यालयसम्म नैतिक र सामाजिक उत्तरदायित्वबोध सहितको शिक्षा, मानसिक स्वास्थ्यप्रति विशेष अभियान, दण्डहीनताको अन्त्य, कानुनी राजको अनुभूति, आपराधी मनोवृत्तिलाई निरुत्साहित गर्नेमा ध्यान दिनुपर्छ । समाजमा संवाद र मेलमिलापको संस्कार पुनःस्थापित गर्नुपर्छ । अहिले बदलिँदो समयमा पनि हत्या र अपराधको श्रृंखला घातक छ, यो सरकारको मात्र होइन, हामी सबैको असुरक्षा र सामूहिक असफलता हो । यदि समयमै सचेत भएनौं भने, सामान्य विवादले ज्यान लिने यो प्रवृत्ति भोलि अझ भयावह सामाजिक संकटमा रूपान्तरण हुन सक्छ । समाजलाई सुरक्षित बनाउन, हामीले पहिले आफूलाई मानवीय बनाउनु आवश्यक छ । सरकार र यसका निकायले ठोस कदम चाल्नुपर्छ ।

  • २०८२ चैत्र ३०, सोमबार