• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

कुस्मीशेरा–राङखानी–बरेङ सडक कालोपत्र ढिलाइप्रति ध्यानाकर्षण

  • २०८२ चैत्र ३०, सोमबार

बागलुङ ।  बागलुङको कुस्मीशेरा–रुम्टा–देउराली–राङखानी–बरेङ सडक कालोपत्रमा भएको ढिलाईप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ध्यानाकर्षण गरिएको छ ।

सडक निर्माणमा भएको ढिलासुस्तीका कारण उक्त क्षेत्रका हजारौँ सर्वसाधारणले कष्टकर यात्रा गर्न बाध्य भएको भन्दै सरोकारवालाले पुनः सरकारको ध्यानाकर्षण गराएका छन् ।

सडक समयमै कालोपत्रे सम्पन्न गर्न माग गर्दै स्थानीयवासीले विगतदेखि नै दबाबमूलक कार्यक्रम तथा धर्ना सञ्चालन गर्दै आए पनि निर्माण कार्य अझै सम्पन्न हुन नसकेको उनीहरूको गुनासो छ । सडक कालोपत्रे सम्पन्न नहुन्जेलसम्म संघर्षका कार्यक्रम निरन्तर जारी रहने संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

भीम श्रीसको संयोजकत्वमा गठन गरिएको संघर्ष समितिले लामो समयदेखि सडक कालोपत्रे निर्माणका लागि निरन्तर दबाब दिँदै आएको जनाएको छ ।

मुख्यमन्त्री कार्यालयमा बुझाइएको ज्ञापनपत्र कार्यक्रममा बागलुङबाट गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठक, प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, युवा नेता हिरा केसी तथा विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

  • २०८२ चैत्र ३०, सोमबार