• २०८३ आश्विन २८, बुधबार
  • 2026 October 14, Wednesday

तित्याङमा ३४१ जनाको क्षयरोग परिक्षण, १४ संकास्पद

  • २०८३ बैशाख २, बुधबार

बागलुङ । बागलुङ नगरपालिकाको वडा नं. ९ तित्याङमा एआई प्रविधियुक्त एक्सरेमार्फत क्षयरोग खोजपड्ताल शिविर सम्पन्न भएको छ ।

प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालयको समन्वयमा बागलुङ नगरपालिकाका वडा नं. ८, ९, १० र ११ का दुर्गम बस्ती तथा लक्षित समुदायलाई केन्द्रमा राखि वडा नं. ९ को कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा ३५१ जनाको एक्सरे परीक्षण गरिएकोमा दुई जनामा क्षयरोग पुष्टि भएको छ भने १४ जना शंकास्पद बिरामीको खकार नमुना सङ्कलन गरी जिन एक्सपर्ट प्रविधिबाट परीक्षणका लागि प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखरा पठाइएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।

बानपा ९ का वडाध्यक्ष राजु थापाले खोजपड्ताल शिविले रोग पहिचानमा सहयोग पु¥याएको बताउनुभयो । यस्तै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले क्षयरोग नियन्त्रणका लागि गाउँ–गाउँमा अत्याधुनिक एआई एक्सरे मेसिनमार्फत खोजपड्ताल गर्नु प्रभावकारी हुने बताउँदै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रादेशिक रोग नियन्त्रण केन्द्र पोखराका महानिर्देशक मनमोहन मिश्र, प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, वरिष्ठ रेडियोलोजिस्ट डा. प्रविण पाण्डे, मेडिकल अधिकृत डा. तिलकमान सिंह, रेडियोग्राफी निरीक्षक धनप्रसाद रेग्मी, जनस्वास्थ्य अधिकृत अनिल खनाल, ल्याब अधिकृत निरोज गौतम, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत टिकाराम भण्डारी, ल्याब निरीक्षक दिल्लीप्रसाद आचार्यलगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थी तथा सेवाग्राहीहरूको उपस्थिति रहेको थियो ।

महानिर्देशक मिश्रले एआई एक्सरे क्षयरोग पहिचान गर्ने छिटो र प्रभावकारी विधि भएकाले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । मेडिकल अधिकृत डा. तिलकमान सिंहले एआई एक्सरेको महत्व र उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

  • २०८३ बैशाख २, बुधबार