बागलुङ । राजनीति सिधा ढंगले अगाडि बढ्दैन, राजनीतिमा लागेका सबैले अवसर पाउछन् भन्ने पनि छैन । राजग्रह नपरेका कारण राजकीय पद पाएनन् भन्ने चर्चा पनि समाजमा हुने गर्दछ । जति नै संघर्ष गर्दा, योगदान दिदा वा निरन्तर पार्टीको जिम्मेवारी बहन गर्दा पनि कतिपयले राजकीय जिम्मेवारीबाट वञ्चित भएका छन् ।नेपालको बहुदलीय प्रणालीमा पार्टीको कुनै पनि कार्यकारी कमिटिको प्रमुख व्यक्तिले तह अनुसारको अवसर पाएका भने धेरै उदाहरणहरु छन् ।
विशेष गरेर २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेस देशभर संगठन भएको, पटक पटक सत्तारुढ भएको र सबै वडा, पालिका, जिल्ला, प्रदेश र संघमा संगठन भएको पार्टी हो ।
यो पार्टीको नेतृत्व गर्ने व्यक्तिहरु प्रायः राजकीय जिम्मेवारीमा पुगेको अवस्था छ । बहुदलीय व्यवस्थाको शुरुवातसंगै बनेको अन्तरिम सरकारको प्रधानमन्त्री नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्ण प्रसाद भट्टराई हुनु भएको थियो । त्यसपछिका सभापतिहरु गिरिजाप्रसाद कोइराला, सुशिल कोइराला र शेर बहादुर देउवा मुलुकको कार्यकारी प्रधानमन्त्री भइसक्नु भएको छ । गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बन्नु भएका गगन थापा फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित हुनु भएको छ । २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन सभापति तथा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई पनि पराजित हुनु भएको थियो ।
केन्द्रमा जस्तै जिल्लामा पार्टीको नेतृत्व गर्ने पार्टी सभापतिहरु पनि राज्यका विभिन्न निकायमा पुगेका छन् । बहुदल आगमनपछिको साढे ३ दशकमा बागलुङमा नेपाली कांग्रेसमा ६ जनाले पार्टीको जिल्ला सभापतिको जिम्मेवारी बहन गरेका छन् ।पञ्चायतको अन्तिम समयमा भएको नेपाली कांग्रेस बागलुङको सातौ जिल्ला अधिवेशनबाट गोविन्द प्रसाद शर्मा कंडेल सभापति रहनु भएको थियो । बहुदल आएपछिको पहिलो सभापति पनि उहाँनै हुनुहुन्थ्यो । कांग्रेसले २०४८ को आम निर्वाचनमा पार्टी सभापति कंडेललाई बागलुङ क्षेत्र नं. १ मा उम्मेदवार बनायो, कंडेल निर्वाचित हुनु भयो । २०४८ को निर्वाचनबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले २०५१ साल असारमा संसद विघटन गरेसंगै कंडेलको सांसद पद पनि सकियो । कात्तिकमा भएको मध्यावधी निर्वाचनमा पुनः उम्मेदवार बनेका गोविन्द प्रसाद कंडेल पराजित हुनु भयो । २०४८ सालमा कंडेलले नेकपा एमालेका उम्मेदवार गोविन्दराज अधिकारीलाई पराजित गर्नु भयो, २०५१ मा अधिकारीले कंडेललाई पराजित गर्नु भयोे ।
२०४८ सालमा बागलुङ क्षेत्र नं. १ मा सांसद बनेका तत्कालिन सभापति गाविन्द प्रसाद शर्मा कंडेलको निधन भइसकेको छ । नेपाली कांग्रेस बागलुङको आठौ जिल्ला अधिवेशनबाट मणिभद्र शर्मा कंडेल सभापति बन्नु भयो ।नेपाली कांग्रेस विभाजन भएर बनेको नेपाली कांग्रेस प्रजातान्त्रिकको समेत सभापति बनेका मणिभन्द्र शर्मा कंडेलको उक्त कार्यकाल पनि गणना गर्दा दुइ कार्यकाल हुन्छ । कंडेल २०५४ को स्थानीय निकाय निर्वाचनमा जिल्ला विकास समितिको सभापति पदमा उम्मेदवार हुनु भयो ।
नेकपा एमालेसंग चुनावी तालमेल गरेको राष्ट्रिय जनमोर्चाका लिल बहादुर थापा मगरसंग पराजित भएका कंडेल २०६४ को पहिलो संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ मा राजमोका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीसंग पराजित हुनुभयो । राजमोसंग दुइ पटक पराजित भएका कंडेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभामा समानुपातिक सांसद बन्नुभयो । पार्टीका तर्फबाट सांसद भएसंगै कंडेल १६ महिना समयका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वाणिज्य तथा आपूर्तिमन्त्री बन्नुभयो ।
कांग्रेस बागलुङको नवौ, दशौ र एघारौ जिल्ला अधिवेशनबाट हरि प्रसाद श्रेष्ठ लगातार ३ कार्यकाल सभापति बन्नुभयो । कंडेलपछि सभापति बनेका हरि प्रसाद श्रेष्ठ एक पटक संविधानसभा सदस्य पदमा उम्मेदवार मात्र बन्नुभयो ।

श्रेष्ठलाई नेपाली कांग्रेसले २०६४ को संविधानसभा निर्वाचनमा उम्मेदवार बनाएको थियो । नेकपा एमालेका रामजी प्रसाद शर्मा विजयी हुदा श्रेष्ठ तेस्रो हुनु भयो । नेकपा माओवादीका चन्द्र बहादुर बुढा (सागर) शर्माको निकटतम प्रतिद्वन्दी बन्नु भएको थियो । १२ औं जिल्ला अधिवेशनबाट सभापति बनेका प्रकाश शर्मा पौडेल २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचित हुनु भएको थियो । संविधानसभा सदस्य पौडेल २०७४ को प्रदेशसभा निर्वाचनमा पुनः उम्मेदवार हुनु भएको थियो । उक्त निर्वाचनमा उहाँ राजमोका कृष्ण थापासंग पराजित हुनु भएको थियो । १३ औं जिल्ला अधिवेशनबाट सभापति निर्वाचित दिपेन्द्र बहादुर थापा मगर २०४९ र २०५४ मा तत्कालिन रायडाडा गाविस (हाल बानपा–११) का अध्यक्ष भइसक्नु भएको थियो । २०७४ को प्रदेशसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ (क) मा उम्मेदवार बनेका थापा नेकपा एमालेका इन्द्रलाल सापकोटासंग पराजित हुनुभयो । २०७९ को प्रदेशसभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेका हिरा बहादुर केसीलाई पराजित गरी प्रदेशसभा सदस्य भएका थापा ११ महिना गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री हुनु भएको थियो ।
नेपाली कांग्रेस बागलुङको १४ औं जिल्ला अधिवेशनबाट निर्वाचित ( वहालवाला) सभापति जीत शेरचन २०७९ को प्रदेशसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ (क) बाट उम्मेदवार हुनु भएको थियो । नेकपा एमालेको समर्थन रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिलाई पराजित गरी प्रदेशसभा सदस्य निर्वाचित भएका शेरचन बुधवार गण्डकी प्रदेशको अर्थमन्त्री बन्नु भएको छ ।
२०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेस बागलुङको पार्टी हाँकेका ६ जना सभापति मध्ये ५ जनाले राजकीय जिम्मेवारी पाउदा ३ कार्यकाल सभापति भएका हरि प्रसाद श्रेष्ठले भने कुनै जिम्मवारी पाउनु भएन । ३ जना पूर्व सभापति गण्डकी प्रदेशमा मन्त्री र २ जना पूर्व सभापति संघीय संसद र संविधानसभा सदस्य बन्दा श्रेष्ठ राजकीय जिम्मेवारी विहिन हुनु भएको हो । संयोग के छ भने अरु सबै सभापतिहरु एक एक कार्यकाल सभापति भएका छन् भने श्रेष्ठ मात्रै ३ कार्यकाल हुनु भएको हो ।
नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा हरि प्रसाद श्रेष्ठ बाहेक अरुले कार्यकाल दोहोराउने अवस्था आएन, लगातार ३ कार्यकाल सभापति भएर पार्टी निर्माणमा श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ, पूर्व उपसभापति समेत रहेका नेपाली कांग्रेसका वर्तमान केन्द्रीय सदस्य जगदिशचन्द्र उपाध्यायले बताउनुभयो । सभापतिका लागि दुइ पटक प्रतिस्पर्धा गरेका उपाध्यायले गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो ।
३ कार्यकाल पार्टी सञ्चालन गर्ने क्रममा नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्ध, जनआन्दोलन लगायतमा महत्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठ नेपाली कांग्रेसमा योगदान गरेर पनि सुविधा नपाउने नेतामा पर्नु हुन्छ ? कांग्रेसका सबै सभापतिहरुले राजकीय पद पाउनु भयो, यहाँले ३ कार्यकाल सभापतिको जिम्मवारी सम्हाल्नु भयो, तर राजकीय पद प्राप्त भएन नि ? भन्ने प्रश्नमा श्रेष्ठ भन्नुहुन्छ, पार्टी सचिव हुदै २०५३ देखि २०६७ सम्म पार्टी सभापति भएर काम गरियो, पार्टीलाई अप्ठेरोमा जोगाउने काम गरियो यसैमा चित्त बुझाउन प¥यो । काममा विश्वास गरियो, कामले मात्र पद पाइदो रहेन्छ भन्ने देखियो, श्रेष्ठले भन्नुभयो,–‘पार्टीमा प्रभावकारी भूमिका नभएका, योगदान कम भएकाले पनि पद पाउछन्, धेरै दुख गरेकाले पनि पाउदैनन्, राजनीति भनेको यस्तै हो ।’
राजनीति निर्मम हुन्छ, पार्टीलाई संकटमा जोगाउनेहरु पाखा लाग्ने र पार्टीमा अवसरको उपयोग गर्नेहरु धेरैले पद र अवसर पाउने गरेका थुप्रै उदाहरणहरु हाम्रो समाजमा छन्, हरि प्रसाद श्रेष्ठ पनि नेपाली कांग्रेस बागलुङमा अप्ठेरो बेलामा पार्टी चलाउने, सुविधा नपाउने नेतामा पर्नु हुन्छ ।
नेपाली कांग्रेसबाट मिन बहादुर केसी र चम्पादेवी खड्का संघीय सहायक र राज्यमन्त्री, गोविन्द शर्मा कंडेल संघीय सांसद, निरज पुन, प्रकाश शर्मा पौडेल, हरि बहादुर खड्का र ज्ञान कुमारी छन्त्याल संविधानसभा सदस्य बन्नु भएको थियो ।
