बागलुङ । उद्घोषण तथा भाषण कला सम्बन्धी कृति ‘वाणीको उडान’ विमोचन गरिएको छ । गणेश महतोद्वारा लिखित ‘वाणीको उडान’ बुधबार एक कार्यक्रमका विच विमोचन गरिएको हो ।
सर्लाहीमा जन्मिएर लामो समयदेखि बागलुङलाई कर्मक्षेत्र बनाउँदै विभिन्न संघसंस्थामा आबद्ध महतोद्धारा लिखित उक्त पुस्तकको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठलगायतले संयुक्त रूपमा विमोचन गर्नु भएको हो ।
विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले कुनैपनि कार्यक्रमको उद्घोषण तथा भाषण गर्नका लागि आवश्यक आधारभुत कुराहरु समावेश पुस्तकको सबैले अध्ययन गर्नुपर्ने बताउनु भएको थियो । विभिन्न संघ संस्था तथा व्यक्तिगत रुपमा पनि उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम संचालन गर्दै आउनुभएका महतोले प्रकाशन गर्नु भएको पुस्तक व्यावहारिक ज्ञानका लागि महत्वपुर्ण हुने उहाँको भनाइ थियो ।
बागलुङ जेसीज प्रकाशक रहेको उक्त पुस्तक सन् २०२६ मा जेसीजले मायाको चिनो स्वरुप आफ्ना अतिथिहरुलाई प्रदान गर्ने अध्यक्ष अञ्जिला श्रेष्ठले बताउनु भएको छ ।
कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष केशव वझा, सम्पूर्ण क्लबको तर्फबाट लायन्सका दुर्गाबहादुर कुँवर र पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले शुभकामना मतव्य व्यक्त गर्नु भएको थियो । धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापाले पुस्तकको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम पुस्तक विमोचन समितिका संयोजक पार्वती अधिकारीको अध्यक्षता, बागलुङ जेसीजका अध्यक्ष अञ्जिला श्रेष्ठको स्वागत र विमोचन समितिका सदस्य एवं पत्रकार ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
