• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

विज्ञापन नीतिको विरोधमा उत्रियो पत्रकार महासंघ

  • २०८३ बैशाख ११, शुक्रबार

बागलुङ । विज्ञापन नीतिको विरुद्धमा बागलुङका पत्रकार एकजुट भएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङले सरकारी विज्ञापन निजी क्षेत्रको सञ्चार माध्यामलाई नदिने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री बालेन्द्र साहलाई प्रजिअ मार्फत ज्ञापन पत्र बुझाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यमार्फत प्रधानमन्त्री शाहलाई उक्त ज्ञापनपत्र हस्तान्तरण गरिएको अध्यक्ष राम थापाले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष राम थापा ‘अविरल’ले ज्ञापनपत्र बुझाउँदै नयाँ विज्ञापन नीतिले सञ्चारमाध्यमहरूको स्वतन्त्रता, स्थायीत्व तथा स्थानीय सञ्चार संस्थाहरूको अस्तित्वमा नकारात्मक असर पार्ने बताउनुभयो ।

सरकारको सचिव स्तरीय निर्णयले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै प्रकाशित गर्ने गरी गत चैत १८ गते गरिएको परिपत्रबारे नेपाल पत्रकार महासंघले विरोध गरेको छ ।

औपचारिक रुपमा यसअघि नै विरोध गरेको महासंघले चरणबद्द विरोध र आन्दोलनका कार्यक्रम गरी बिहिबार प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गरेको छ । देशभरका ७७ जिल्लाबाटै प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाईएको नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।

कार्यक्रममा ज्ञापनपत्र बुझेपछि प्रजिअ आचार्यले स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भएकोले महासंघको माग जायज भएको भन्दै सो सम्बन्धमा संघिय सरकारले उचित निर्णय लिने बताउनुभयो । उक्त अवसरमा महासंघका उपाध्यक्ष सृजना पन्तले यो माग सुनुवाइ नभए महासंघ थप आन्दोलनका चरणमा जान बाध्य हुने बताइन् ।

  • २०८३ बैशाख ११, शुक्रबार