• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

पत्रकारको अवस्था र पत्रकारमैत्री नीति निर्माणका लागि अन्तरक्रिया

  • २०८३ बैशाख १३, आईतवार

बागलुङ । प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघको समन्वयमा बागलुङका पत्रकारहरुको अवस्था, आगमी नीति निर्माणका लागि आवश्यक छलफल गरिएको छ ।

स्थानीय संचार माध्यमको वर्तमान अवस्था र चुनौतीकासँगै यसको सवलिकरणका आगमी वर्षमा गण्डकी प्रदेशले ल्याउने नीतिका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरूको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे प्रत्यक्ष रूपमा जानकारी लिन तथा आगामी योजनाहरू निर्माण गर्न जिल्ला जिल्लामा पुग्न थालेको बताउनुभयो । “पत्रकारको अहिलेको अवस्था के हो, पत्रकारहरुलाई के आवश्यक छ भन्ने कुरा जानकारी लिएपछि मात्रै नीति बनाउन सहज हुन्छ” भण्डारीले भन्नुभयो “स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण, दिगोपन र व्यावसायिक विकासका लागि आवश्यक नीतिगत तथा संस्थागत पहल गर्नका लागि सञ्चार माध्यमको अवस्था जान्न मिडिया उद्यमीहरुलाई समेत आकर्षति गर्ने खालको नीति ल्याउन योजना बनाउन थालिएको होे ।”


छलफलका क्रममा संचार माध्यमका संचालक तथा सहभागीहरूले स्थानीय सञ्चारमाध्यमलाई सशक्त बनाउन तीनै तहका सरकारको सहयोग र सहकार्य आवश्यक रहेको बताएका थिए । उनिहरुले प्रेस रजिष्ट्रार कार्यालयले पनि स्थानीय स्तरका सञ्चारमाध्यमलाई लक्षित गरी दीर्घकालीन योजना, अनुदान, तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । धेरैजसो मिडिया उद्यमीहरुले मिडियाको अवस्था धरासायी बनेको बताएका थियो ।
कार्यक्रममा शेयरकास्ट इनिशियटिभ नेपालका सिईओ तथा मिडिया अनुसन्धानकर्ता मधु आचार्य, सेन्टर फर मिडियाका संचालक एवं मिडिया अनुसन्धानकर्ता डा. भुमिराज चापागाईले पछिल्लो परिवेश अनुसार मिडियाहरु चल्न आवश्यक रहेको बताएका छन् ।

पाठक–श्रोताहरुले चाहेको विषय बस्तु उत्पादनमा ध्यान दिन आग्रह गर्नुभएको थियो । छलफलमा परम्परागत शैलीबाट बाहिर निस्केर डिजिटल युगअनुसार सञ्चारमाध्यमले आफूलाई रूपान्तरण गर्नुपर्ने, सामाजिक सञ्जालसँगको प्रतिस्पर्धालाई अवसरका रूपमा लिँदै विश्वसनीयता कायम राख्नुपर्ने विषयमा समेत जोड दिइएको थियो । ससहभागी स्थानीहरुले खोजमूलक पत्रकारिता, स्थानीय मुद्दाको प्राथमिकता र नागरिक सहभागितालाई बढवा दिन लाग्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा धौलागिरी जागरण दैनिकका प्रधान सम्पादक रामबहादुर जी.सी.ले उहिलेको पत्रकारिता र आजको पत्रकारितका विषयमा जानकारी गराउदै सञ्चारमाध्यमको विश्वसनीयता कायम राख्दै डिजिटल मिडियामा अघि बढ्नुपर्ने बताउनुभयो ।

सयपत्री एफ.एमका अध्यक्ष जगन्नाथ आचार्यले एफ.एम रेडियोहरूको वर्तमान अवस्था, आर्थिक चुनौती तथा प्रविधिगत रूपान्तरणको आवश्यकता सम्बन्धी धारणा व्यक्त गर्नुभएको थियो सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमले नीतिनिर्माण तह र सञ्चार क्षेत्रबीचको दूरी घटाउँदै स्थानीय संचारमाध्यम र पत्रकारिताको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरूको अवस्था र कार्यक्रमको उद्देश्यबारे नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुवास आचार्यले जानकारी गराउनुभएको थियो । कार्यक्रम महासंघका सचिव नारायण रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यमका सञ्चालक, पत्रकार तथा सञ्चार सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

  • २०८३ बैशाख १३, आईतवार