• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

निसीखोलाको प्रगति ५२ प्रतिशत

  • २०८३ बैशाख १३, आईतवार

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ५२ प्रतिशत प्रगति गरेको छ ।

गाउँपालिकाको बोहोरागाउँमा आयोजना गरिएको आर्थिक वर्ष २०८२/८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले ५३ करोड ९१ लाख बजेटमा अहिले सम्म ३९ करोड ७१ लाख आय भइसकेको बताउदै वैशाख पहिलो सातासम्म २८ करोड ४३ लाख खर्च भएको बताउनुभयो ।
पुनले पूँजीगत तर्फ २८ प्रतिशत भएको जानकारी दिनुभयो ।

पुनका अनुसार १७१ योजना मध्ये १२४ योजना सम्झौता भइसकको र ६१ योजना फरफारक सम्पन्न भइसकेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले जनप्रतिनिधि र कर्मचारीलाई पालिकाको विकास निर्माण र सुशासनमा जोड दिन आग्रह गरेका थिए । गाउँपालिकाले यस वर्ष रिग तालमा पूर्वाधार निर्माण तथा गाउँपालिकाको प्रशासकीय भवन थप गर्ने योजना रहेको जनाएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले निसीखोला गाउँपालिकाको सुशासन, पारदर्शिता र जवाफदेहिताको विभिन्न विषयमा प्रश्नहरु गरेका थिए भने केही महत्वपूर्ण सुझावहरु समेत दिएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्नकर्ता नागरिकहरुले सबैभन्दा बढी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, मोटरबाटो, झोलुङ्गे पुल, विकास निर्माण तथा योजना, राजश्व तथा कर असुली, कर्मचारी व्यवस्थापन, नागरिकको सेवा प्रवाह लगायतका विषयमा थप प्रश्नहरु गरेका थिए ।

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर, विभिन्न वडाका वडा अध्यक्षहरु, पालिकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुख लगायतले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा नागरिक दैनिकका पत्रकार संगम घर्ती मगरले नागरिक सन्तुष्टि फारम भरी नमूना सर्वेक्षणबाट प्राप्त पालिकाको अवस्था र सूचकहरुबारे प्रस्तुत गर्नुभएको थियो भने पत्रकार विनदो प्रतिक थापाले सार्वजनिक सुनुवाई कार्यक्रमको कानुनी पक्ष र आचारसंहिताबारे प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम निसीखोला गाउँपालिका–३ का वडा अध्यक्ष रमेश विक्रम शाहीकोे अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढामगरले गर्नुभएको थियो ।

  • २०८३ बैशाख १३, आईतवार