बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४तंग्राम जोड्न डुडियाखोलामाथी स्टिलको झोलुङ्गे पुल निर्माण भएको जम्मा सात वर्ष भयो ।
डुडियाघाटमा काठेपुल विस्थापित गरेर स्टील वृज बन्दा पुल लामो समय टिक्ने र यात्रामा सहज भयो भनेर स्थानीय खुसी भए । त्यही डुडियाघाटबाट तंग्राम हुँदै धम्जा र ताराखोला जाने सडक समेत सञ्चालनमा आयो । वर्खामा खोला ठूलो हुँदा सवारीसाधन आउ–जाउमा समस्या भएपछि अहिले गण्डकी प्रदेशकले डुडियाघाटमा रु. तीन करोड ६२ लाख २२ हजार खर्चेर मोटरेवल पुल निर्माण गरेपछि छेउकै चालु अवस्थाको लाखौ लगानीमा बनाइएको झोलुङ्गे पुल प्रयोगविहीन बन्न थालेको छ । जिल्लाभर डुडियाघाटमा जस्तै एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन बनेका छन् । सडक सञ्जाल विस्तारका कारण गोरेटोबाटे मेटिदा र खोलामा पक्की पुल बन्दा एक सय बढी झोलुङ्गे पुल प्रयोगमा आउन नसकेका हुन् ।
प्रदेश सरकारलको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले काठेखोलामा मात्रै हालै तीन वटा मोटरेवल पुल बनाइसकेको छ ।
गाउँपालिकाको वडा नम्बर ६ बिँहु र वडा नम्बर–२ भिमापोखरा जोड्ने गरी लामाबगरमा तीन वर्ष अघि निर्माण भएको रु. तीन करोड ३१ लाख लागत पक्की पुल बनेपछि छेउकै झोलुङ्गे पुल समेत प्रयोगमा आउन छाडिसकेको छ । काठेखोला गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले कुनै समय अत्यन्तै अभाव खड्कने झोलुङ्गे पुल पक्की पुलका कारण प्रयोगमा आउन छोडेको बताउनुभयो ।
“काठेखोला गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा तीन वटा पक्की पुल बने, पक्की पुलका कारण छेउमै रहेको झोलुङ्गे प्रयोगमा आउन छोड्यो” थापाले भन्नुभयो “पक्की पुल नबन्दा सम्म त यात्रु झोलुङ्गे पुलबाट र सवारीसाधनहरु खोलाटबाट जान्थे, अहिले पक्की पुल बनेपछि झोलुङ्गेपुलको काम भएन, गाउँपालिकाले प्रयोगमा आउन सक्ने संभावित क्षेत्रमा झोलुङ्गे पुल स्थानान्तरण गर्न योजना बनाएको छ, आवश्यकताका आधारमा जनताबाट झोलुङ्गे पुलको माग हुन प¥यो ।” थापाले सडकका कारण पहिलेको गोरेटो बाटो मेटिदा गोरेटो बाटोमा रहेको अन्य ५ वटा झोलुङ्गे पुल जीर्ण बनेको जानकारी दिनुभयो ।
सबैभन्दा बढी पक्की पुल निर्माण गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डका दर्जन बढी झोलुङ्गे पुल प्रयोगमा आउन छोडेर जीर्ण बनेका छन् । सडक सञ्जालसंगै धमाधम मोटरेवल पुल बन्न थालेपछि बागलुङ जिल्लाभर करोडौका झोलुङ्गे पुल प्रयोगमा आउन छाडेको अनुमान छ ।
गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गेपुलबाट मानिस वारपार गर्ने छोडर काठेको पुल कुहिएको छ भने लठ्ठामा खिया लागेको छ । मोटरेवल पुल निर्माण भएपछि पैदलयात्रुले समेत सहजताका लागि झोलुङ्गे पुलको सट्टा पक्की पुलनै प्रयोग गर्दै आएका छन् । बडिगाड गाउँपालिका भित्रै रहेको लोकमार्गमा पर्ने लब्दी खोला मोटरेवल पुल र भिमगिडेको भिमगाड खोलामा मोटरेवल पुल निर्माण भएपछि झोलुङ्गेपुल प्रयोगमा आउन नसकेको हो ।
स्थानीय नविन रानाका अनुसार बागलुङ जिल्लाभर मध्यपहाडी पुष्पलाल लोकमार्गमा बनेका एक दर्जन मोटरेवल पुलका कारण १० वटा झोलुङ्गेपुल विस्थापित भएको जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–१ मालढुङ्गादेखि बागलुङ नगरपालिका–१० भकुण्डे जोड्नेगरी काठेखोलामाथी दक्षिण जाने सडकमा पक्की पुल बनाइएपछि त्यहाँको झोलुङ्गे पुल कामै नलाग्नेगरी बिग्रिएको छ । यस्तै बागलुङ बजार देखि तित्याङ जोड्ने गरी निर्माणभएको लामो झोलुङ्गे पुलका कारण काठेखोलामाथी रहेको छोटो झोलुङ्गे पुल समेत विस्थापित भइसकेको छ । आवश्यकताका आधारमा प्रयोगमा आउन सक्नेगरी झोलुङ्गे पुल स्थानान्तरणको योजना आवश्यक रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीले जानकारी दिनुभयो । दुर्गममा अझै पुलको अभावमा खोला तर्न समस्या भएको स्थानमा प्रयोगमा नआएका तर राम्रा झोलुङ्गे पुल काटेर स्थानान्तरण गर्ने नीति संघीय सरकार वा प्रदेश सरकारबाट आउन आवश्यक रहेको बताउनुभयो । मोटरेवल पुल संगै रहेका झोलुङ्गे पुल विस्थापित भइसकेका छन् भने मोटरेवल पुल भन्दा केही पर रहेका झोलुङ्गे पुलहरु मात्रै प्रयोगमा आउने गरेको घर्तीको भनाई छ ।
लामा र अग्ला झोलुङ्गे पुल र पक्की पुलका कारण नदी तर्नका लागि निर्माण गरिएको स–साना झोलुङ्गे पुलहरु बागलुङमा करिब एक सय ५० भन्दा बढी झोलुङ्गे पुल प्रयोगमा आउन छोडेको पाइएको छ । सडक मार्गको प्रयोग गर्दा पदमार्गमा रहेका कतिपय पुलहरु आफै प्रयोगमा आउन नसकेका हुन् । जिल्लामा ५०० भन्दा बढी झोलुङ्गे पुल रहेको तथ्याङ्क रहेको छ ।
