• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङका सांसद खड्काको दौडधुप : दश घण्टामा दश वडाका मतदाता भेट्दै

बागलुङ । राजनीति गर्नेहरूलाई चुनावको चटारो जति हुन्छ, चुनाव जितेपछि मतदातालाई भेट्ने र धन्यवाद दिने चटारो त्यो भन्दा पनि बढी नै हुन्छ ।

चुनावमा पार्टीले योजना बनाउँछ, मत माग्न उम्मेदवारसहितको टोलीको दौडधुप हुन्छ ।

चुनावपछि सांसदको सचिवालयले योजना बनाउँछ, सांसदको टिम र पार्टीको टिमले धन्यवाद दिने, स्थानीय सरोकार, विकास र आवश्यकताको पहिचानसहित जनताका सुझाव लिने गर्दछन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार भई अत्यधिक मतका साथ निर्वाचित सांसद सुशील खड्का दुई दिनदेखि मतदाता र सरोकारवालासँग संवादमा हुनुहुन्छ ।

बागलुङ नगरपालिका वडा नं. १, ४ लगायत दक्षिण क्षेत्रका वडामा पुगेका खड्काले वैशाख १७ गते शुक्रबार काठेखोला गाउँपालिकाका ८ र बागलुङ नगरपालिकाका २ गरी १० वटा वडाका जनता भेट्ने गरी कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

सांसद खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत समय तालिका सार्वजनिक गर्दै ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम अन्तर्गत वैशाख १७ गते बिहान ७ः३० बजे काठेखोला गाउँपालिका–१ पालाबाट जनता भेट्न सुरु गर्ने र साँझ ६ बजे बागलुङ नगरपालिका–९ तित्याङका जनतालाई भेटेसँगै सकिने जानकारी गराउनुभएको हो ।

उहाँले भेटका क्रममा स्थानीय सरोकार, विकासका आवश्यकता र सुझावहरू प्रत्यक्ष रूपमा सुन्ने सूचनामा जानकारी गराउनुभएको छ ।

साढे १० घण्टामा १० वटा वडाका मतदाता भेट्ने सांसद खड्काको कार्यक्रम छ । यसरी भेट्ने कार्यक्रमलाई स्वयं रास्वपाका कार्यकर्ताहरूले नै असन्तुष्टि जनाएका छन् ।

“भेटघाट भन्दा पनि गाडीमा सरर हो ? त्यसरी पनि भ्याउन गाह्रो छ, हैट समय तालिका ?” भन्दै सिगानाका कृष्णसरगम खड्काले सामाजिक सञ्जालमा रास्वपाका बागलुङ क्षेत्र नं. १ का चुनावी कमाण्डर रोशन कार्कीलाई ट्याग गर्नुभएको छ ।

गाडी चढेर सरासर हिँड्दा पनि १० वटा वडा छिचोल्दा ७ देखि ८ घण्टा लाग्छ । अनि ‘जनतासँग जनप्रतिनिधि’ भन्दा पनि ‘वडासँग जनप्रतिनिधि’ जस्तो हुन्छ भन्ने गुनासो सामाजिक सञ्जालहरूमा मतदाताले गरेका छन् ।

“जनतासँग जनप्रतिनिधि भन्दा पनि वडासँग जनप्रतिनिधि भने जस्तो कार्यक्रम भयो । यो कार्यक्रमले वडामा पाइला टेकेको भन्ने मात्रै हुन्छ । वडामा पुग्यौँ भन्ने कुरा त होला, यस्तो कार्यक्रमले मतदाता, जनता र शुभेच्छुकहरूसँग परामर्श हुन सक्दैन कि ?” भन्ने टिप्पणीहरू आएका छन् ।

काठेखोला गाउँपालिका वडा नं. १ पाला, भीमपोखरा, धम्जा, तङ्ग्राम, माथिल्लो बिहु, तल्लो बिहु, लेखानी हुँदै रेश पुग्दा काठेखोला गाउँपालिका सकिन्छ । त्यसपछि सिगाना र तित्याङमा पनि कार्यक्रम गर्ने भनेको वडामा पुग्ने मात्र जस्तो भयो । यसरी जनताका सुझाव संकलन हुँदैन, कार्यक्रम बनाउँदा ख्याल गर्नु पर्छ, एक रास्वपा कार्यकर्ताले बताए ।

सांसद खड्का जिल्लामा आउने र जनतासँग भेटघाट गर्ने भन्ने विषयमा सामान्य जानकारी भएपनि ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रमको समय तालिका निर्माण गरिएको विषयमा भने पार्टीमा जानकारी र छलफल नभएको राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङका अध्यक्ष महेन्द्र खड्काले बताउनुभयो ।

‘जनतालाई भेट्ने, समस्या बुझ्ने र सुझाव लिने विषय राम्रो हो’, अध्यक्ष खड्काले भन्नुभयो, उहाँको बाध्यता र व्यस्तताले यस्तो समय तालिका निर्माण गर्नु भयो होला, तर उहाँ निर्वाचन जीतेपछि आफ्नै हिसाबले हिड्नु भएको छ, जिल्ला पार्टीमा समन्वय र सल्लाह हुँदैन ।’