• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

रास्वपा बागलुङको निर्वाचन समीक्षा : अपेक्षाभन्दा बढी सफलता

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङले हालै सम्पन्न निर्वाचनको विस्तृत समीक्षा गर्दै पार्टीले अपेक्षाभन्दा बढी सफलता हासिल गरेको निष्कर्ष निकालेको छ । जिल्ला समितिको बैठकले आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउँदै जनतासँगको सम्बन्ध मजबुत बनाउने रणनीति तय गरेको छ ।

शनिवार जिल्लाको गलकोट नगरपालिका–३ हटियामा जिल्ला कार्यसमितिका सभापति महेन्द्र खड्काको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समग्र मूल्यांकन, संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण, आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिका विषयमा गहन छलफल गरिएको थियो । बैठकले विशेषगरी पार्टीको संगठनात्मक संरचनालाई वडा तहसम्म विस्तार गरी सक्रिय र प्रभावकारी बनाउने निर्णय गरेको छ । स्थानीय तहमा पार्टीको पहुँच बढाउँदै जनतासँग प्रत्यक्ष संवाद र सहकार्यलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने सहमति गरिएको छ ।

यसका साथै, जनमुखी तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू सञ्चालन गर्दै पार्टीको विश्वसनीयता थप मजबुत बनाउने लक्ष्य लिइएको रास्वपा जिल्ला सचिवालय संयोजक खिमानन्द पौडेलले जानकारी दिनुभयो । जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण कार्यक्रमहरूलाई व्यवस्थित, प्रभावकारी र एकीकृत बनाउन जिल्ला समितिको समन्वय र निर्देशनमा सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसले संगठनभित्रको एकरूपता कायम गर्दै कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनपछिको यो पहिलो जिल्लास्तरीय औपचारिक बैठक हो ।

जिल्ला सचिवालय संयोजक खिमानन्द पौडेलले निर्वाचन समीक्षाका क्रममा जनताबाट पार्टीले अपेक्षाभन्दा बढी समर्थन र विश्वास प्राप्त गरेको भन्दै बैठकको निष्कर्ष रहेको जनकारी दिनुभयो । निर्वाचन परिणामले पार्टीप्रति जनताको आकर्षण र भरोसा बढ्दो क्रममा रहेको स्पष्ट संकेत गरेको छ । जिल्लामा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । ती दुबै क्षेत्रमा रास्वपाले विजय हासिल गरेको छ । जसलाई पार्टीले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ । बैठकमा सहभागी नेताहरूले उक्त सफलता संगठनको सक्रियता, जनतासँगको निकट सम्बन्ध तथा वैकल्पिक राजनीतिक शक्तिका रूपमा पार्टीप्रतिको विश्वासको परिणाम भएको बताएका छन् ।

बैठकमा आगामी दिनमा पार्टीका जनप्रतिनिधिहरूले जनताको समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ । प्रतिनिधि सभाका सदस्यहरूसँग समन्वय गर्दै स्थानीयस्तरका समस्या समाधान गर्ने, विकास निर्माणका कामलाई तीव्रता दिने तथा जनताका अपेक्षा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यसैगरी, युवाहरू, महिला तथा विभिन्न पेशागत समूहहरूलाई संगठनमा आबद्ध गराउँदै पार्टीको आधार विस्तार गर्ने विषयमा पनि विशेष जोड दिइएको छ । राजनीतिक पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राख्दै रास्वपाले जिल्लामा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।

बैठकले निर्वाचनपछिको उत्साहलाई कायम राख्दै संगठन विस्तार, जनसम्पर्क मजबुतीकरण र जनउत्तरदायी कार्यक्रममार्फत जिल्लामा पार्टीको उपस्थितिलाई थप सुदृढ बनाउने स्पष्ट मार्गचित्र तय गरेको निष्कर्ष निकालिएको छ । बैठकमा दुवै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य शुसिल खड्का र सोम शर्मा  बागलुङकै समानुपातिक प्रतिनिधि सभासदस्य गंगा छन्त्यालको भने उपस्थिति थिएन ।