• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

ढोरपाटनमा गोरु काटेको आरोपमा ११ जना पक्राउ

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–३ घोसामा गोरु काटिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । वैशाख २८ गते प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोरुको मासु र हतियारसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

स्थानीय चैते विकसँग बस्ने भत्तबहादुर सुनारले पाल्न लगाएको गोरु काटिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिहरुमा लालबिर विक, १८ वर्षीय सरोज सुनार, ५५ वर्षीय यमबहादुर बि.क., ५३ वर्षीय तिलप्रसाद सुनार, ३२ वर्षीय बलबिर कामी, ६० वर्षीय थमबहादुर सुनार, ४६ वर्षीय बिमल बि.क., २२ वर्षीय बिनोद सुनार, ३० वर्षीय जालबहादुर कामी, ३७ वर्षीय भक्तबहादुर सुनार र ४० वर्षीय रिखप्रसाद सुनार रहेका छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक तिलक मानन्धरको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याइएको छ ।

नेपालमा गाइ वा गोरु काट्न कानूनी रूपमा पूर्ण प्रतिबन्ध छ । संविधान तथा मुलुकी फौजदारी संहिता, २०७४ अनुसार गाइ वा गोरु काट्ने व्यक्तिलाई ३ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । सहयोग गर्ने वा अंगभंग गर्ने व्यक्तिलाई ६ महिना कैद सजाय र घाइते पार्ने वा यातना दिनेलाई ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।