सम्पादकीय । विश्वमा कम्युनिष्ट विचार रक्षात्मक भएको समयमा नेपालमा पञ्चायत विरोधी आन्दोलन भर्खर सफल भएको थियो । नेपाली कांग्रेस र बामपन्थी दलहरु मिलेर गरेको आन्दोलनपछिको आम निर्वाचनमा नेपाली कांग्रेस बहुमत सहित पहिलो पार्टी र नेकपा एमाले बलियो प्रतिपक्ष बन्न सफल भए । एमाले प्रतिपक्षी दल मात्रै बनेन, एमालेका तत्कालिन महासचिव मदन कुमार भण्डारीले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर देश विदेशमा समेत नेकपा एमालेको पहिचान बनाउन सपल हुनु भएको थियो । त्यो मात्रै थिएन, एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त जनताको बहुदलीय जनवादलाई पनि त्यो निर्वाचनले पुष्टी गरिदिएको थियो । विश्वमा कम्युनिष्ट सत्ता ढलपलाएको बेला नेपालमा उदाउदै जानुमा त्यही सिद्धान्तको प्रभाव रहेको स्वयं बामपन्थीहरु बताउछन् ।
नेकपा एमालेले आज पनि जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने गरेको छ । तत्कालिन महासचिव मदन कुमार भण्डारीले प्रतिपादन गरेको यो सिद्धान्तले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक धारमा रूपान्तरण गर्न, बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्न र जनतामाझ बामपन्थी शक्तिप्रति विश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको थियो । तर पछिल्लो समय एमालेको व्यवहार र अभ्यास हेर्दा, पार्टीभित्रको आन्तरिक लोकतन्त्र क्रमशः कमजोर बन्दै गएको छ । नेतृत्व चयनदेखि नीति निर्माणसम्मका विषयमा खुला बहस र स्वस्थ प्रतिस्पर्धाभन्दा पनि नेतृत्वको निर्देशनलाई नै अन्तिम सत्य मान्ने प्रवृत्ति हाबी देखिन्छ । जनताको बहुदलीय जनवादले कल्पना गरेको विचार, क्षमता र लोकप्रियतामार्फत श्रेष्ठता हासिल गर्ने अभ्यास क्रमशः सीमित बन्दै जानु चिन्ताको विषय हो ।
त्यति मात्र होइन, मुलुकको आर्थिक विकास र सामाजिक रूपान्तरणमा पनि एमालेको वर्तमान अभ्यासमाथि प्रश्न उठ्न थालेका छन् । समाजवादउन्मुख अर्थतन्त्र, उत्पादनमुखी नीति र श्रमजीवी वर्गको पक्षधरता भन्दा पनि दलाल पूँजीवादसँग नजिकिएको आभाष आम नागरिकमा बढ्दो छ । सीमित समूह र पहुँचवालाको हितलाई केन्द्रमा राख्ने आर्थिक गतिविधिले बामपन्थी राजनीतिको मूल मर्ममाथि नै प्रश्न खडा गरेको छ । यदि एमालेले वास्तवमै जनताको बहुदलीय जनवादलाई जीवन्त राख्न चाहन्छ भने, उसले पार्टीभित्र खुला प्रतिस्पर्धा, आलोचना–आत्मालोचना र वैचारिक बहसलाई प्रोत्साहन गर्नैपर्छ । अन्यथा सिद्धान्त केवल दस्तावेजमा सीमित हुनेछ, व्यवहारमा होइन । मदन भण्डारी र जिवराज आश्रितको दुर्घटनामा परी निधन भयो, एमालेले दुर्घटना होइन, हत्या हो भन्यो, तर दुर्घटना भएको ३३ वर्षसम्म समेत त्यसको सत्यतथ्य बाहिर आउन सकेन, यो बीचमा एमाले पटक पटक सत्ताको नेतृत्वमा पुग्यो तर पनि त्यता एमालेको ध्यान गएन । सत्तामुखी बन्दै गएका कारण आज एमालेले मान्दै आएको सिद्धान्त जनताको बहुदलीय जनवादको मर्म र भावना क्रमश स्खलित हुदै गएको छ भने आर्थिक तथा सामाजिक रुपान्तरणमा एमाले मझधारको शक्तिका रुपमा अगाडि बढ्दैछ । मुलुकको प्रमुख बामपन्थी शक्ति एमालेले सिद्धान्त र व्यवहारबीचको सन्तुलन मिलाउन ध्यान दिन पर्दछ ।
