• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

एमालेमा शक्तिसन्तुलनको प्रभाव :कार्यकाल सकिनै लाग्दा गण्डकीको उपनेता बने थापा

बागलुङ । नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलको उपनेतामा प्रदेशसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य लिल बहादुर थापा मगर चयन हुनु भएको छ ।

संसदीय दलका नेता खगराज अधिकारीले बिहीवार बिहान उपनेतामा थापा मगर, प्रमुख सचतेकमा देवका पहारी र सचेतकमा भक्त बहादुर कुँवरलाई मनोनयन गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्द बहादुर नेपालीले जानकारी दिनुभएको छ ।

गण्डकी प्रदेशसभामा नेकपा एमालेका २२ जना सदस्य रहेका छन् । पार्टीका तत्कालिन स्थायी कमिटि सदस्य तथा हालका केन्द्रीय सचिव खगराज अधिकारी संसदीय दलको नेता रहेको एमाले संसदीय दलमा झण्डै पौने चार वर्ष उपनेताको व्यवस्था गरिएको थिएन ।

संसदीय दलको नेताले संसद चलाउनका लागि उपनेता, प्रमुख सचेतक, सचेतक चयन गर्ने परम्परा दलहरुमा रहेको छ । खगराज अधिकारीले प्रमुख सचेतक र सचेतक चयन गरे पनि वर्तमान कार्यकालको पौने चार वर्षसम्म उपनेता चयन गर्नु भएको थिएन ।

नेकपा एमालेको ११ औं महाधिवेशन पूर्व नै भएको निर्वाचनपछि बनेको गण्डकी प्रदेशसभामा पार्टीका स्थायी कमिटि सदस्य अधिकारी संसदीय दलको नेता बनेपछि उहाँ आफै २ पटक मुख्यमन्त्री बन्नुभयो, आफ्नो नेतृत्वको प्रदेश सरकार र गठबन्धन सरकारमा गरेर ११ जना प्रदेशसभा सदस्यहरुलाई मन्त्री बनाउनु भएको छ ।

कांग्रेससंगको गठबन्धनमा बनेको वर्तमान प्रदेश सरकारमा एमालेका तर्फबाट भौतिक पूर्वाधारमा गोविन्द बहादुर नेपाली सहित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा भीम बहादुर कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्यमन्त्रीमा लक्ष्मण बहादुर पाण्डे रहनु भएको छ ।

अधिकारीले सिता सुन्दास, बेद बहादुर गुरुङ्ग, प्रकाश केसी, पद्मा जिसी श्रेष्ठ, रोशन गाहा थापा, मित्रलाल बस्याल र कृष्ण पाठकलाई मन्त्रीको जिम्मेवारी दिइसक्नु भएको छ ।

यही कार्यकालको गण्डकी प्रदेशसभामा पार्टीको जिम्मेवारी अनुसार अधिकारीपछिको बरियतामा रहेका लिल बहादुर थापा मगरले भने आजसम्म कुनै जिम्मेवारी पाउनु भएको थिएन ।

नेकपा माओवादी केन्द्रसंग एमालेको एकीकरणसंगै नेकपाको पोलिटव्यूरो सदस्य रहनु भएका थापा ११ औं महाधिवेशनसम्म पोलिटव्यूरोकै जिम्मेवारीमा रहनु भएको थियो । ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन नभएका उहाँ अहिले केन्द्रीय सदस्य मात्र रहनु भएको छ ।

२०७९ मंसिरमा निर्वाचन भयो, लगत्तै गण्डकी प्रदेशसभामा थापा मगर चयन हुनुभयो । पटक पटक एमालेले मन्त्री बनाउदा, संसदीय दलको मुख्य सचेतक र सचेतक बनाउदा अधिकारीले थापालाई सम्झनु भएन, यसपटक कसरी सम्झनु भयो, हामी आफै अचम्ममा परेका छौ, एमालेका एक केन्द्रीय सदस्यले भने, माथिको शक्ति सन्तुलनसंगै गण्डकीमा पनि फरकपन देख्न पाइयो ।

एमालेमा गुटका कारण थुप्रै हाइप्रोफाइल नेताहरु अवसरबाट वञ्चित हुने, गुटकै कारण संभावना कम भएकाहरु पनि ह्वात्तै माथि पुग्ने देखिएकै छ, ति सदस्यले भने, साढे तीन वर्ष भन्दा बढी समय उपनेताको आवश्कता देखिएन, अहिले एकाएक थापाले उपनेताको जिम्मेवारी पाउनुलाई शक्ति सन्तुलनको प्रभावका रुपमा लिन सकिन्छ ।

केन्द्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय हुनु र गण्डकीमा लिल बहादुर थापा मगरले उपनेताको जिम्मेवारी पाउनुलाई एमाले भित्र शक्ति सन्तुलनमा देखिएको फरकपनका रुपमा बुझ्न सकिने एमाले गण्डकी प्रदेश कमिटिका एक सदस्यले बताए ।

उपनेताको जिम्मेवारी पाएका थापा मगरले पार्टीले दिएको जिम्मेवारी पुरा गर्न निरन्तर लाग्ने बताउनु भयो । हिजो किन दिइएन, आज किन दिइयो भन्नेतर्फ लाग्ने होइन, हिजो आवश्यकता ठानिएन होला, आज आवश्यकता ठानियो होला, इमान जमानका साथ पाएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध भएर बढ्ने हो, थापा मगरले भन्नुभयो, जे जिम्मेवारी आउछ, त्यही अनुसारको भूमिका निर्वाह गर्दै जाने हो ।