• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

निशुल्क सौन्दर्यकला तालिम

बागलुङ । बागलुङका दलित महिलाहरूका लागि सौन्दर्यकला सम्बन्धी निशुल्क तालिम सुरु भएको छ । सूर्योदय समाज कल्याण मञ्चको आयोजना र एकीकृत सेवा कार्यालय बागलुङको सहयोगमा १ सय ९० घण्टे सौन्दर्यकला सम्बन्धी तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष लक्ष्मण केसी (सनी) ले सीप सिकेर व्यवसायिक बन्न तालिमका सहभागीलाई आग्रह गर्नुभयो । महिलाको सबैभन्दा ठूलो सौन्दर्य सीप भएको भन्दै उहाँले तालिममा उत्साहपूर्ण सहभागी भएर तालिम पश्चात व्यवहारमा लागू गर्न अनुरोध गर्नुभयो ।

उद्घाटन कार्यक्रममा पूर्व गण्डकी प्रदेश सभा सदस्य सावित्रा राना, सूर्योदय समाज कल्याण मञ्चका सल्लाहकार मणिभद्र शर्मा, निरबहादुर क्षेत्री र नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सूर्योदय समाज कल्याण मञ्चका अध्यक्ष मञ्जु क्षेत्रीको अध्यक्षता, उपाध्यक्ष भीमा अधिकारीको स्वागत तथा सचिव लक्ष्मी बोहराको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिममा बागलुङका विभिन्न स्थानीय तहका २० जना महिलाको सहभागिता रहेको छ । सहभागीलाई प्रशिक्षक छायाँ पुन बुढा र सृष्टी क्षेत्रीले प्रशिक्षण दिनेछन् ।