• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

रास्वपा काठेखोला अधिवेशन :पहिला पदाधिकारी, पछि पार्टी सदस्यता

बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठेखोला गाउँपालिका बागलुङको प्रथम पालिका अधिवेशनबाट चयन भएका एक पदाधिकारीको सदस्यता मितिलाई लिएर संगठनभित्र तथा स्थानीय राजनीतिक वृत्तमा प्रक्रियागत प्रश्न उठेको छ ।
अधिवेशन सम्पन्न भएको दुई दिनपछि सदस्यता प्राप्त भएको देखिने व्यक्तिलाई पालिका उपसभापतिमा चयन गरिएको विषयले पार्टीको विधान, संगठनात्मक प्रक्रिया र आन्तरिक पारदर्शितामाथि बहस सिर्जना गरेको हो ।
रास्वपा काठेखोला गाउँपालिका समितिको प्रथम अधिवेशन २०८३ जेठ १२ गते सम्पन्न भएको थियो । अधिवेशनले हरि बहादुर कार्की सभापति र योगनाथ कंडेल उपसभापति रहेको ११ सदस्यीय पालिका समिति सर्वसम्मत चयन गरेको थियो । तर, उपसभापतिमा चयन भएका योगनाथ कंडेलको पार्टी परिचयपत्रमा उल्लेखित सदस्यता मिति भने २०८३ जेठ १४ गते रहेको छ ।
पार्टी सभापति हरि बहादुर कार्कीले जेठ १६ गते शनिवार मध्यान्ह सामाजिक सञ्जालमा उपसभापति कंडेलको सदस्यता प्राप्त गरेको विवरण सार्वजनिक गर्दै, ‘योगदान कंडेलज्यूलाई हार्दिक स्वागत राष्ट्रिय स्वतन्त्र पार्टीमा’ लेख्नु भएको छ ।
परिचयपत्रमा कंडेलको सदस्यता नम्बर, जिल्ला बागलुङ, गाउँपालिका काठेखोला–८ लगायत विवरण उल्लेख छ । तर सदस्यता मिति अधिवेशन सम्पन्न भएको मितिभन्दा दुई दिन पछिको देखिएपछि स्वाभाविक रूपमा प्रश्न उठेको छ, ‘के पार्टी सदस्यता नै नलिएको वा औपचारिक सदस्यता प्राप्त नगरेको व्यक्तिलाई पालिका तहको पदाधिकारी बनाइएको हो ?’
राजनीतिक दलका संगठनात्मक संरचनामा कुनै पनि व्यक्तिले जिम्मेवारीपूर्ण पदमा निर्वाचित वा मनोनित हुनुअघि पार्टीको वैध सदस्य हुनुपर्ने सामान्य अभ्यास रहँदै आएको छ ।
रास्वपाको विधानको धारा ५२ मा पालिका अधिवेशन सम्बन्धी व्यवस्था रहेको छ, धारा ५२ (३) मा ‘पालिका अधिवेशन गठन सम्बन्धी व्यवस्थामा (क) पालिका भित्रका सम्पूर्ण सदस्यहरु पालिका अधिवेशनबाट पार्टी सदस्य मध्ये प्रमुख १, उपप्रमुख १, सचिव १ समेत गरी ११ जनाको पालिका समिति निर्वाचित गरिनेछ’ भन्ने उल्लेख छ ।
स्थानीय स्तरमा रास्वपाले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र प्रक्रियागत शुद्धताको नारासहित संगठन विस्तार गरिरहेका बेला यस्ता घटनाले पार्टीको घोषित मान्यता र व्यवहारबीचको दूरीमाथि बहस जन्माउन सक्ने देखिन्छ । विशेषगरी स्थापित दलहरूमाथि प्रक्रियागत अपारदर्शिता र भागबण्डाको आरोप लगाउँदै आएको रास्वपाका लागि आफ्नै संगठनभित्र उठेका प्रश्नको जवाफ झनै संवेदनशील विषय बन्न सक्छ ।
सदस्यता नै नभएको व्यक्तिलाई पदाधिकारी कसरी बनाइयो ? भन्ने प्रश्नमा रास्वपा गण्डकी प्रदेश संगठन विभागका सचिवालय सदस्य खिमानन्द पौडेलले पालिका अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएकाले सदस्यका बारेमा छलफल नभएको जानकारी दिनुभयो ।
कंडेलले सदस्यताका लागि फर्म भर्नु भएको थियो, यद्यपी अनलाइन फर्म नभएसम्म सदस्य भएको मानिदैन र कुनै पनि पदमा निर्वाचित हुन पनि पाइदैन, पौडेलले भन्नुभयो,–‘फर्म भरेको हुनाले उहाँले उपसभापतिमा दावी गर्नु भयो, विरोध आएन, उहाँ सर्वसम्मत हुनु भयो, अनलाइन सदस्यता भने पदाधिकारी भएको २ दिन पछि १४ गते आयो, यो प्राविधिक समस्या हो ।’
रास्वपा नयाँ शक्तिका रुपमा अहिले सत्तामा छ, पार्टीको संगठन विस्तार अभियानमै भएकाले पार्टीमा आवद्ध हुन चाहनेहरुको संख्या बढेको छ, औपचारिक सदस्यता नलिएका धेरै जनताले साथ समर्थन गर्नुभएकोछ, यद्यपी पार्टीको औपचारिक जिम्मेवारी दिदा सदस्यताको अवस्था बुझ्नु पर्छ, रास्वपाका एक जिल्ला सदस्यले बताए ।