• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

‘के बदल्ने, के जोगाउने ?’ एमालेले देशव्यापी सुझाव संकलन सुरु गर्दै

बागलुङ । पार्टीको निर्वाचन समीक्षा तथा संगठन पुनर्गठनका लागि गठित नेकपा एमालेको कार्यदलले देशव्यापी सुझाव संकलन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यदलको आज बसेको बैठकले सातै प्रदेश, राजधानी, सम्पर्क समन्वय, जनसंगठन तथा विभिन्न निकायका पदाधिकारीहरूसँग लगातार ११ दिन सुझाव संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो ।

पछिल्लो निर्वाचनको परिणाम, संगठनात्मक अवस्था तथा पार्टीको आगामी कार्यदिशाबारे व्यापक राय संकलन गर्ने उद्देश्यले कार्यदलले प्रदेशस्तरीय तथा विषयगत भेलाहरू आयोजना गर्ने निर्णय गरेको जनाएको छ । पार्टीभित्र नेतृत्वको निरन्तरता, पुनर्गठन र संगठन सुदृढीकरणबारे विभिन्न तहका नेताहरूबाट सुझाव लिने तयारी गरिएको छ ।

निर्णयअनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुझाव संकलन अभियान सुरु हुनेछ । त्यसपछि असार २ गते कोशी, असार ४ गते लुम्बिनी, असार ६ गते सुदूरपश्चिम, असार ८ गते कर्णाली, असार ११ गते गण्डकी र असार १३ गते मधेश प्रदेशमा भेला आयोजना गरिनेछ ।

त्यसैगरी असार १६ गते राजधानी विशेष भेला, असार १७ गते सम्पर्क समन्वय समिति, असार १८ गते जनसंगठन र असार १९ गते विभाग प्रमुख तथा विभिन्न निकायका पदाधिकारीहरूसँग सुझाव संकलन गरिनेछ ।

कार्यदलले प्रदेशस्तरीय भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको सहभागिता रहने जनाएको छ । कार्यक्रमको संयोजन सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्नेछन् ।

बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी पार्टीका महासचिवलाई दिने निर्णयसमेत गरेको छ । साथै आयोजना हुने सबै भेलामा कार्यदलका संयोजक, महासचिव तथा सदस्यहरूको अनिवार्य उपस्थिति रहने जनाइएको छ ।

प्रदेश भेलामा सम्बन्धित भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू र जिल्ला पदाधिकारीहरूको सहभागिता रहने केन्द्रीय सदस्य तथा विद्यार्थी इन्चार्ज रश्मी आचार्यले जानकारी दिनुभएको छ ।

निर्वाचन परिणामको समीक्षा, संगठनात्मक पुनर्संरचना र आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारीका रूपमा हेरिएको यो अभियानलाई एमालेभित्र यतिबेला चासोका साथ हेरिएको छ । कार्यदलले सङ्कलित सुझावका आधारमा पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ ।