बागलुङ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको आठौं बैठकमा पार्टीको वर्तमान अवस्था, संगठन सञ्चालन, नेतृत्व शैली र आगामी बाटोबारे गम्भीर आत्मसमीक्षा भएको छ ।
बैठकमा प्रदेश कमिटिका सदस्यहरूले पार्टीभित्र देखिएका गुटबन्दी, अवसर वितरणमा असन्तुलन, वैचारिक कमजोरी र संगठनात्मक समस्यालाई सुधार गर्दै रुपान्तरणको बाटोमा जानुपर्ने सुझाव दिएका छन् । बैठकमा सहभागी नेताहरूले पार्टीको कार्यशैली, संस्कार र प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको धारणा राखेका थिए । उनीहरूले उठाएका विषयहरूले एमालेभित्रको वर्तमान अवस्थाप्रति गम्भीर असन्तुष्टि र सुधारको आवश्यकता औंल्याएका छन् ।
पार्टी नेतृत्वपंक्तिमा देखिएको लोभ, गुटबन्दी र विचलनप्रति प्रश्न उठाइएको छ । नेताहरूमा देखिएको गुटगत सोचले पार्टी कमजोर बनेको भन्दै संगठनलाई व्यक्ति केन्द्रित नभई विधि र प्रणालीमा आधारित बनाउनुपर्ने आवाज बैठकमा उठेको थियो ।
त्यस्तै, एमाले आफ्नो मूल वैचारिक आधारबाट टाढिँदै गएको भन्दै पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्गठन गर्नुपर्ने सुझाव आएको छ । वर्गीय आन्दोलनको चरित्र कमजोर हुँदै गएको, आधारभूत तहमा पार्टीको वैचारिक धरातल कमजोर भएको र नियमित प्रशिक्षण तथा राजनीतिक शिक्षालाई विस्तार गर्नुपर्ने विषय उठेको बैठकका एक सहभागीले बताए ।
बैठकमा कार्यकर्ता मूल्यांकन प्रणाली कमजोर भएको विषयसमेत उठेको थियो । योगदान र क्षमताका आधारमा भन्दा नेतृत्व नजिक रहेका व्यक्तिहरूले बढी अवसर पाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिइएको छ । सोझा, इमानदार र लामो समयदेखि पार्टीमा योगदान गरेका कार्यकर्ताहरू अवसरबाट वञ्चित भएको भन्दै यसतर्फ नेतृत्वको ध्यान जानुपर्ने सहभागीहरूको भनाइ थियो । एमाले–माओवादी एकता जोगाउन नसकेको विषयलाई समेत बैठकमा नेतृत्वको कमजोरीका रूपमा औंल्याइएको छ । साथै पार्टीभित्रका समस्या तलदेखि माथिसम्म रहेको भन्दै संगठन सुधारका लागि व्यापक पुनर्गठन आवश्यक रहेको धारणा राखिएको छ ।
बैठकमा अधिकांश नेताहरूले नेतृत्व परिवर्तनको विषय उठाएका थिए, अब पनि रुपान्तरण नभए पार्टी अझै कमजोर हुने भन्दै सदस्यहरुले निर्ममतापूर्वक समिक्षा गर्नु पर्नेमा जोड दिएको वैठक स्रोत जनाएको छ । दोष एउटालाई थुपारेर आफु पन्छिने होइन, कमजोरीको जिम्मेवारी सबैले लिएर पार्टीलाई पुर्नगठन गर्नु पर्ने सुझाव नेताहरुले दिएका थिए ।
बैठकबाट बाहिर आएका विषयहरूले एमालेभित्र अहिलेको मुख्य बहस नेतृत्वको निरन्तरताको होइन, पार्टीलाई कसरी नयाँ ढंगले सञ्चालन गर्ने भन्नेमा केन्द्रित रहेको देखाउँछ ।
नेतृत्वको रक्षा र संस्थागत सुधारबीचको सन्तुलन मिलाउनु एमालेका लागि आगामी चुनौती बनेको छ । जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको, संगठनमा अवसर वितरणप्रति प्रश्न उठेको र नयाँ पुस्तालाई आकर्षित गर्न नसकेको अवस्थामा पार्टी रुपान्तरणको एजेन्डा अब एमालेभित्रैबाट बलियो रूपमा उठ्न थालेको छ ।
एमाले गण्डकीका सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य कृष्ण पाठकले बैठकमा उठेका विषयहरू सार्वजनिक गर्दै पार्टीभित्र देखिएका समस्यालाई विधिसम्मत ढंगले समाधान गर्दै वर्तमान संकटको समयमा नेतृत्व परिवर्तनभन्दा पार्टी सुधार र सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने धारणा राखेको दावी गर्नु भएको छ । पार्टीको नीति र नेतृत्वमा सुधार, पुर्नजागरण र पुर्नसंरचनाको माग चर्केपछि गत जेठ १० गते सम्पन्न केन्द्रीय सविचालय वैठकले प्रदेश स्तरमा चुनावी समिक्षा तथा सुझाव संकलन गर्ने निर्णय गरेको थियो ।
सचिवालयको निर्णय अनुसार यतिबेला पार्टीका पदाधिकारीहरु प्रदेश तहमा समिक्षा तथा सुझाव संकलनमा सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई सहज रुपमा नेतृत्व हस्तान्तरण गर्न दवाव सिर्जना भएको छ भने ओली पक्षले कुनै पनि हालतमा नेतृत्व नछोड्ने, छोड्नै परे सबै पदाधिकारीले छोड्नु पर्ने बताउदै आएको छ ।
वैठकले पार्टी सदस्यता नविकरण, जिल्ला कमिटिका वैठक गर्ने, पार्टीलाई थप गतिशिल बनाउनका लागि कार्ययोजना बनाउने लगायतका निर्णय गरेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी दिनुभयो । वैठकमा २० जनाले सुझाव राखेका थिए ।
