बागलुङ । ढोरपाटन नगरपालिकाको सहयोग तथा गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजनामा बुर्तिबाङमा छैठौं गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो प्रतियोगिता आइताबार सम्पन्न भएको छ।
गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष घम बहादुर थापा मगरको अध्यक्षता रहेको उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवाहक नगर प्रमुख धन बहादुर कायत कल्याणको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले कार्यक्रममा बोल्दै खेलकुदले युवावर्गलाई अनुशासित, स्वस्थ र समाजप्रति जिम्मेवार बन्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । साथै उहाँले बागलुङ पश्चिम क्षेत्रबाट उत्पादन भएका खेलाडीहरुले यस क्षेत्रको मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पहिचान दिन सफल भएको बताउनु भयो ।
प्रतियोगितामा विभिन्न तौल तथा उमेर समूह अनुसार उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई प्रथम, द्वितीय र तृतीय स्थानका आधारमा मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । शनिबार र आइतबार गरी दुई दिनसम्म संचालन भएको उक्त प्रतियोगितामा ६ जिल्लाका १२० जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
