• २०८३ आश्विन १८, आईतवार
  • 2026 October 04, Sunday

रास्वपाको नयाँ नेतृत्व : अवसर, अपेक्षा र संस्थागत यात्राको चुनौती

सम्पादकीय । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई हार्दिक बधाई । छोटो राजनीतिक यात्रामै जनताको ठूलो विश्वास आर्जन गरेको रास्वपाले अब आफूलाई केवल विकल्पको नारामा सीमित नराखी व्यवहारमा फरक राजनीतिक संस्कार प्रस्तुत गर्ने जिम्मेवारी पाएको छ । महाधिवेशन कुनै पनि राजनीतिक दलको जीवनमा केवल नेतृत्व चयन गर्ने प्रक्रिया मात्र होइन, त्यो दलको भविष्यको दिशा, विचार र कार्यशैली तय गर्ने महत्वपूर्ण अवसर पनि हो । यस दृष्टिले हेर्दा रास्वपाको पहिलो महाधिवेशनले केही सकारात्मक सन्देश दिएको छ भने केही गम्भीर आत्मसमीक्षाको आवश्यकता पनि देखाएको छ । सबैभन्दा सकारात्मक पक्ष भनेको नयाँ पुस्ताको राजनीतिक सहभागिता र आन्तरिक लोकतन्त्रको अभ्यास हो । लामो समयदेखि नेपाली राजनीतिमा हावी रहेको पुरानो पुस्ताको नेतृत्व शैलीप्रति असन्तुष्टि बढिरहेको अवस्थामा रास्वपाले नयाँ पुस्तालाई अगाडि ल्याउने वातावरण बनाएको छ । निर्वाचित केन्द्रीय समितिमा उल्लेख्य महिला सहभागिता हुनु पनि नेपाली राजनीतिक दलहरूका लागि एउटा उदाहरणीय अभ्यास हो । राजनीतिमा नयाँ अनुहार आउनु मात्र पर्याप्त हुँदैन, उनीहरूले नयाँ सोच, नयाँ कार्यशैली र नयाँ संस्कार पनि स्थापित गर्न सक्नुपर्छ ।

यही ठाउँमा रास्वपाको वास्तविक परीक्षा सुरु हुन्छ ।महाधिवेशनले रास्वपालाई संस्थागत पार्टी बन्ने बाटोमा अगाडि बढाएको छ । तर, वैकल्पिक राजनीतिको दाबी गर्ने दलका लागि व्यवस्थापन, पारदर्शिता, विधि र आन्तरिक लोकतन्त्र अझै महत्वपूर्ण विषय हुन् । महाधिवेशन व्यवस्थापनमा देखिएका कमजोरीले एउटा प्रश्न उठाएको छ, पुराना दलभन्दा फरक बन्न खोजेको पार्टीले आफ्नै आन्तरिक सञ्चालनमा कस्तो स्तरको क्षमता देखायो ? रास्वपा महामन्त्री विपिनकुमार आचार्यले स्वीकार गरेझैं व्यवस्थापकीय कमजोरी आगामी दिनका लागि सिकाइ बन्नुपर्छ । ठूलो जनसमर्थन भएको पार्टीले संगठन सञ्चालन, निर्णय प्रक्रिया र कार्यकर्ता व्यवस्थापनमा पनि त्यही स्तरको परिपक्वता देखाउन आवश्यक छ । रास्वपाले सामाजिक लोकतन्त्रलाई आफ्नो राजनीतिक मार्गका रूपमा अघि सारेको छ । अब यसको वास्तविक अर्थ जनताले व्यवहारबाट बुझ्न चाहेका छन् । सुशासन, पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिताका विषय केवल दस्तावेजमा होइन, पार्टीको दैनिक अभ्यासमा देखिनुपर्छ ।

रास्वपाका लागि अर्को महत्वपूर्ण चुनौती भनेको व्यक्ति केन्द्रित राजनीतिबाट संस्थागत राजनीतितर्फको यात्रा हो । कुनै पनि पार्टी एउटा व्यक्तिको लोकप्रियताले मात्र दीर्घकालसम्म टिक्न सक्दैन । बलियो संस्था, स्पष्ट नीति, सक्षम संगठन र आलोचना सुन्न सक्ने संस्कारले मात्र राजनीतिक स्थायित्व दिन सक्छ । जनताले रास्वपालाई पुराना दलप्रतिको असन्तुष्टिको विकल्पका रूपमा रोजेका हुन् । त्यसैले अब यो पार्टीले पुराना दलको आलोचना गरेर मात्र होइन, आफूले फरक अभ्यास गरेर प्रमाणित गर्नुपर्ने समय आएको छ । नयाँ नेतृत्वका लागि अवसर पनि ठूलो छ, चुनौती पनि उत्तिकै ठूलो छ । जनताको अपेक्षा असाधारण छ । संसददेखि संगठनसम्म र सरकार सञ्चालनदेखि गाउँ तहसम्म रास्वपाले आफ्नो फरक पहिचान निर्माण गर्न सक्नुपर्छ । पहिलो महाधिवेशनले रास्वपालाई वैधानिकता दिएको छ । अब दोस्रो चरणमा उसले विश्वास जित्ने राजनीति गर्नुपर्नेछ । जनताले खोजेको विकल्प केवल नयाँ नाम होइन, नयाँ संस्कार हो । यही परीक्षामा रास्वपाको भविष्य निर्धारण हुनेछ ।