बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ गलकोट खण्डको काफलठुटा सडकखण्डमा आइतबार दिउँसो गएको पहिरोका कारण सडकको एक भाग भासिएको छ भने नजिक रहेका दुई वटा घर उच्च जोखिममा परेका छन् ।
दिउँसो करिब १२ बजेतिर परेको वर्षापछि सडकछेउको नालीबाट पानी सहज रूपमा निकास हुन नसक्दा पहिरो गएको स्थानीयवासीले बताएका छन् । नालीमा पानी थुनिएर सडकमुनिको माटो कटान भएपछि सडकको केही भाग भासिएको ईलाका प्रहरी कार्यालय गलकोटका प्रहरी नीरिक्षक डम्बर बहादुर बोहोराले जानकारी दिनु भयो । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन भने एकतर्फी सञ्चालनमा आएको प्रहरी नीरिक्षक बोहोराले जानकारी दिनुभयो ।
पहिरोले सडकसँगै आसपासका दुई घरलाई समेत जोखिममा पारेको छ । प्रभावित क्षेत्रका बासिन्दाले तत्काल आवश्यक सुरक्षा उपाय अपनाउन र जोखिम न्यूनीकरणका काम अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
स्थानीयवासीले नाली व्यवस्थापन, पहिरो नियन्त्रण तथा क्षतिग्रस्त सडकको तत्काल मर्मतसम्भार गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। समयमै समस्या समाधान नगरिए थप वर्षासँगै ठूलो क्षति हुन सक्ने उनीहरूको चेतावनी छ ।
