बागलुङ । जिल्लाको बागलुङ नगरपालिकाले नगर भित्रका बालबालिका तथा किशोरकिशोरीमा कुपोषण र रक्तअल्पताको परिक्षण गरेको छ ।
पालिका भित्रका संस्थागत र सामुदायीक विद्यालयका ६ हजार १९२ जना किशोरकिशोरीको हेमोग्लोबिन परीक्षण गरेको थियो जसमा ४ हजार ८ सय ३० जनाको अवस्था सामान्य, १ हजार ३३४ जनामा मध्यम रक्तअल्पता र २८ जनामा गम्भीर रक्तअल्पता भेटिएको नगर पालिका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।
“परीक्षणपछि मध्यम तथा गम्भीर रक्तअल्पता भएका विद्यार्थीलाई आइरन–फोलिक एसिड ट्याब्लेट वितरण, पोषण परामर्श, स्वास्थ्य शिक्षा, आवश्यक रेफरल तथा नियमित फलोअपको व्यवस्था गरिएको छ ”प्रमुख खनालले भन्नु भयो ।
सोमबार बागलुङमा बागलुङ नगरपालिकाले आयोजना गरेको ‘स्वस्थ र सुखी परिवार’ विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत ९ वटा विद्यालयका १ हजार ३४५ जना विद्यार्थीको आँखा परीक्षण तथा ८ वटा विद्यालयका १ हजार ४७ जना विद्यार्थीको दन्त परीक्षण, उपचार, स्वास्थ्य परामर्श र आवश्यक रेफरल सेवा उपलब्ध गराइएको जानकारी दिइयो ।
त्यस्तै, नगरपालिकामा २ हजार २२० जना बालबालिकाको पोषण लेखाजोखा गर्दा १० जनामा गम्भीर सिघ्र कुपोषण र ५१ जनामा मध्यम सिघ्र कुपोषण देखिएको जनाइएको छ । कुपोषित बालबालिकालाई आवश्यक उपचार, पोषण परामर्श, रेफरल तथा नियमित अनुगमनको व्यवस्था गरिएको छ ।
महिला स्वास्थ्यतर्फ नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन गरिएका प्रजनन स्वास्थ्य शिविरबाट सयौं महिलाले सेवा लिएका छन्। शिविरमा पाठेघर खस्ने समस्या, पाठेघरको मुखसम्बन्धी समस्या लगायत विभिन्न रोगको परीक्षण, उपचार, स्वास्थ्य शिक्षा तथा परामर्श प्रदान गरिएको जनाइएको छ ।
