सम्पादकीय । नेपालको भौतिक पूर्वाधार विकासमा आज एक ऐतिहासिक अध्याय थपिएको छ । करिब ८० महिनाको लामो प्रतीक्षापछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहले नेपाललाई सुरुङमार्ग युगमा प्रवेश गराएको छ । तर यो आयोजनाको कथा केवल प्राविधिक उपलब्धिमा सीमित छैन । यसमा राजनीतिक नेतृत्व, सामाजिक स्मृति र इतिहासको सम्मान पनि जोडिएको छ । शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए, मुख्य सुरुङको ब्रेकथ्रु अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए, र उद्घाटन हालका प्रधानमन्त्री बालेन शाहको कार्यकालमा सम्पन्न भएको छ । यसरी तीन फरक नेतृत्वको योगदानले यो आयोजना पूर्णता पाएको छ । सुरुङमार्गको उद्घाटनसँगै सामाजिक सञ्जालमा ‘शिलान्यास जसले गर्यो, उद्घाटन पनि उसैले गर्नुपथ्र्यो’ भन्ने बहस चर्किएको छ । ओलीका समर्थकहरूले शिलान्यासको नाम मेटाउने प्रयास भएको भन्दै आलोचना गरेका छन् । यो विवाद केवल नामको मात्र होइन, इतिहास र अग्रजको सम्मानको पनि हो । कुनै पनि भौतिक संरचना राष्ट्रको सामूहिक सम्पत्ति हो, त्यसैले यसलाई व्यक्तिगत स्वामित्व वा राजनीतिक लाभको दृष्टिले हेर्नु उचित हुँदैन ।
इतिहासलाई मेटाउने वा उपेक्षा गर्ने प्रवृत्ति समाजमा असहिष्णुता बढाउने खतरा बोकेको हुन्छ । एक पुस्ताले अर्को पुस्ताको योगदानलाई स्वीकार नगरेसम्म सामाजिक सहकार्य र राजनीतिक संस्कार मजबुत हुन सक्दैन । सुरुङमार्ग जस्तो ठूला पूर्वाधार परियोजना राष्ट्रको साझा उपलब्धि हुन्, जसमा नेतृत्वको निरन्तरता र संस्थागत स्मृतिको संरक्षण अपरिहार्य हुन्छ ।यातायात व्यवस्थापनका दृष्टिले सुरुङमार्गलाई चरणगत रूपमा सञ्चालन गर्ने निर्णय व्यावहारिक छ । सुरुमा अत्यावश्यक सेवाका सवारीलाई मात्र प्रवेश दिइनेछ, तीन महिनापछि मूल्यांकन गरेर अन्य सवारीलाई खोलिनेछ । शुल्क प्रणाली पनि सवारीको प्रकारअनुसार व्यवस्थित गरिएको छ । पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे तथा प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ, जसले सुरक्षालाई प्राथमिकता दिएको देखाउँछ ।
नेपाल–जापान सहकार्यबाट सम्पन्न यो आयोजना करिब २५ अर्ब रुपैयाँको लागतमा बनेको हो । कोभिड–१९ महामारी र प्राविधिक जटिलताका कारण ढिलाइ भए पनि अन्ततः सम्पन्न हुनु नै ठूलो उपलब्धि हो । यसले यात्राको समय करिब एक घण्टा बचत गर्नेछ, इन्धन खर्च घटाउनेछ, र आर्थिक गतिविधि तथा पर्यटनलाई नयाँ ऊर्जा दिनेछ ।शिलान्यास गर्ने, ब्रेकथ्रु गर्ने, उद्घाटन गर्ने, यी सबै चरणहरू राष्ट्रको सामूहिक स्मृतिमा सुरक्षित रहनुपर्छ । राजनीतिक मतभेद वा व्यक्तिगत प्रतिस्पर्धाले इतिहासलाई मेटाउने अभ्यास गर्नु राष्ट्रको दीर्घकालीन हितविपरीत हुन्छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले देखाएको बाटो केवल यातायात सहजताको मात्र होइन, इतिहासलाई सम्मान गर्ने संस्कारको पनि हो । यदि हामीले अग्रजको योगदानलाई स्वीकार गर्दै नयाँ पुस्तालाई प्रेरणा दिन सक्यौं भने मात्र पूर्वाधार विकासले राष्ट्रलाई स्थायी प्रगतिको दिशामा अघि बढाउनेछ ।
