• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

एमाले बागलुङ नगर कमिटीको बैठक :अध्यक्ष शर्माको राजीनामा अस्वीकृत

  • २०८३ श्रावण २७, बुधबार

बागलुङ । नेकपा (एमाले) बागलुङ नगर कमिटीको बैठक निर्वाचन सकिएको पाँच महिना पछि बसेको छ ।

मंगलबार बागलुङमा बसेको बैठकले गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लाको दुई वटै क्षेत्रबाट पराजय वेहोरे पछि राजिनामा दिएका नगर अध्यक्ष रामकृष्र्ण शर्माको राजिनामा अस्वीकृत गरेको छ । उहाँलाई पार्टी काममा पुनः सक्रिय हुन अनुरोध गरेको छ । पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन अध्यक्ष शर्माको नेतृत्व आवश्यक रहेको निष्कर्षसहित बैठकले उहाँलाई जिम्मेवारीमा फर्किन आग्रह गरेको हो ।

नगर कमिटीका उपाध्यक्ष रुद्र केसीको अध्यक्षतामा बसेको बैठकले निर्वाचनको समीक्षा गर्दै नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्या तथा पार्टीका आगामी गतिविधिका विषयमा विस्तृत छलफल गरेको छ ।

बैठकमा निर्वाचनको समग्र समीक्षा, पार्टी सदस्यता नवीकरण तथा पार्टीले सञ्चालन गर्न लागेको जनजागरण अभियानलगायतका विषयमा पनि छलफल भएको थियो । बैठकले बागलुङ नगरपालिकाका १४ वटै वडामा यही २८ र २९ गतेभित्र पार्टी सदस्यता नवीकरण गर्ने कार्यसूचीसमेत तय गरेको छ ।

केन्द्रीय सदस्य मना केसीको प्रमुख आतिथ्यताको रूपमा सम्बोधन गर्नुभएको थियो भने बैठकको सञ्चालन नगर कमिटीका सचिव ध्रुव श्रेष्ठले गर्नुभएको थियो । बैठकमा नागरिकले दैनिक रूपमा भोग्नुपरेका समस्या, स्थानीय तहमा देखिएका जनसरोकारका विषय तथा ती समस्याको समाधानका लागि पार्टीले खेल्नुपर्ने भूमिकाबारे पनि सहभागीहरूले धारणा राखेका थिए । आगामी दिनमा जनतासँग प्रत्यक्ष जोडिँदै पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ ।

बैठकमा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूका साथै १४ वटै वडाका वडाध्यक्ष, वडा इन्चार्ज, नगर इन्चार्ज तथा भूगोलबाट जिल्ला कमिटी, प्रदेश कमिटी र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूको सहभागिता रहेको थियो ।

बैठकले पार्टी संगठनलाई थप व्यवस्थित गर्दै सदस्यता नवीकरण, जनजागरण अभियान र जनसरोकारका विषयमा पार्टीको सक्रियता बढाउने दिशामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।