• २०८३ आश्विन १३, मंगलवार
  • 2026 September 29, Tuesday

गोठमै पुगेर किसानको स्वास्थ्य परीक्षण

“घुम्ती बसाईको क्रममा पुगेका किसानलाई पशुपालन तथा आलु खेती गर्दै आउनु भएको छ,तर कसैलाई सामान्य स्वास्थ्य समस्या देखिएका नजिकमा स्वास्थ्य संस्था छैन,त्यसैले हामिले गोठमैपुगेर स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेका छौ”जक्तपुरीले भन्नु भयो ।

जिल्लाको तमानखोला गाउँपालिकाले आफ्नो क्षेत्रका किसानलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गोठमै पुगेर स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको छ ।

घुम्ती बसाइँका क्रममा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा पर्ने गुर्जामा पुगेर खेतीपाती तथा पशुपालन गर्दै आएका किसानलाई लक्षित गरी मंगलबार स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेको हो । तमानखोला गाउँपालिका वडा नं. १ का नागरिकहरू हरेक वर्ष घुम्ती बसाइँका क्रममा गुर्जामा पुगेर आलुखेती तथा पशुपालन गर्दै आएका छन् । गाउँपालिकाबाट टाढा तथा उच्च पहाडी क्षेत्रमा बसोबास गर्नुपर्ने भएकाले सामान्य स्वास्थ्य समस्या हुँदा समेत तत्काल स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै गोठमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिका कार्यपालिका सदस्य हिक्मत जक्तपुरीले जानकारी दिनुभयो ।

“घुम्ती बसाईको क्रममा पुगेका किसानलाई पशुपालन तथा आलु खेती गर्दै आउनु भएको छ,तर कसैलाई सामान्य स्वास्थ्य समस्या देखिएका नजिकमा स्वास्थ्य संस्था छैन,त्यसैले हामिले गोठमैपुगेर स्वास्थ्य परिक्षण तथा औषधि वितरण गरेका छौ”जक्तपुरीले भन्नु भयो । शिविरमा करिब ८० जना किसानको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप (प्रेसर), ज्वरो लगायतका सामान्य स्वास्थ्य समस्या जाँच गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क औषधि समेत वितरण गरिएको थियो । किसानलाई स्वास्थ्य सेवासँगै परिवार नियोजनसम्बन्धी सेवा तथा परामर्श पनि प्रदान गरिएको थियो । महिला तथा पुरुष दुवैका लागि परिवार नियोजनसम्बन्धी सेवा उपलब्ध गराइएको हो ।

 

उच्च पहाडी क्षेत्रमा लामो समयसम्म बस्नुपर्ने भएकाले किसानलाई सामान्य स्वास्थ्य समस्या देखिन सक्ने भन्दै शिविरमार्फत आवश्यक औषधि वितरण गरिएको हो । कहिलेकाहीँ झाडापखाला लाग्ने, घाउचोट तथा अन्य सामान्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले त्यस्ता समस्याका लागि आवश्यक औषधिसमेत किसानलाई उपलब्ध गराइएको थियो । उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने किसानलाई लक्षित गरी आयुर्वेदिक औषधि तथा स्वास्थ्यसम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो ।

 

गोठमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण तथा औषधि पाएपछि स्थानीय किसानहरू खुशी भएका छन् । स्थानीय किसान शेर बहादुर वि.क.ले आफूहरू खेतीपातीको काममा व्यस्त रहने र स्वास्थ्य समस्या हुँदा टाढा स्वास्थ्य संस्था जान कठिन हुने अवस्थामा गोठमै स्वास्थ्य सेवा पाउँदा सहज भएको बताउनुभयो । “हामी आफ्नै काममा हुन्छौ कहिलेकाही स्वास्थयमा समस्या आउछ नजिकमा पुगिहाल्ने स्वास्थय संस्था छैन तर पालिकाले दिएको सेवाले हामी खुशी छौ” विकले भन्नुभयो ।

गुर्जामा बागलुङसँगै म्याग्दीको धौलागिरी गाउँ पालिकाका स्थानीयको समेत बसोबास रहेको छ । उक्त क्षेत्रमा करिब १५० घरधुरीको घुम्ती बसोबास गर्दै आएका छन् । यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत आलुखेती रहेको छ । उच्च पहाडी भूभागमा उत्पादन हुने आलु खेतीका लागि किसानहरू वर्षायाममा लामो समय गुर्जामा बस्ने गर्दछन् ।

किसानलाई घुम्ती बसाइँका क्रममा आवश्यक सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले तमानखोला गाउँपालिकाले यसअघि पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसानलाई मोबाइल चार्जिङ लगायतका समस्या समाधान गर्न गाउँपालिकाले यसअघि गुर्जामा संयुक्त चार्जिङ स्टेशन निमार्ण गरेको छ ।

गाउँपालिकाले गत वर्ष पनि गुर्जामा पुगेर किसानको स्वास्थ्य परीक्षण गरेको थियो । यस वर्ष पनि स्वास्थ्य परीक्षणलाई निरन्तरता दिँदै किसानको स्वास्थ्य अवस्था बुझ्ने, सामान्य स्वास्थ्य समस्या पहिचान गर्ने र आवश्यक औषधि उपलब्ध गराउने काम गरिएको हो ।

गाउँपालिकाले दुर्गम तथा घुम्ती बसाइँमा रहेका नागरिकलाई लक्षित गरी स्वास्थ्यलगायतका आधारभूत सेवा घरदैलोमै पु¥याउने प्रयासलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ ।