• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

निसीखोलामा पहिरोले १० घर उच्च जोखिममा

“पहिरोका कारण घर वरपरको जमिनमा चिरा पर्न थालेको छ , घरको तलतर्फबाट पहिरो झरेका कारण माथिल्लो भागमा रहेका घरहरू समेत जोखिममा परेका हुन् , लगातार वर्षा भएमा पहिरो थप फैलिन सक्ने र घरहरूमा क्षति पुग्न सक्ने सम्भावना रहेको छ ”उपाध्यक्ष घर्तिले भन्नुभयो ।

बागलुङ । जिल्लाको निसीखोला गाउँपालिका–४ चिनारेमा पहिरो खसेपछि टोलनै उच्च जोखिममा परेको छ ।

गाउँको तलबाट पहिरो झरेपछि चिनारे टोलका १० घर उच्च जोखिममा परेका छन् । पहिरोका कारण भूमिराज कँडेल,सहति भानिश्वर कँडेल, शशिधर कँडेल, लाली कँडेल, तुलसिराम कँडेल, लिला बहादुर कँडेल, रमिलाल कँडेल, पूर्णलाल कँडेल, ज्ञानबहादुर कँडेल र पुनलाल भुसालका घर उच्च जोखिममा रहेका छन् । आइतबार बिहान करिब ७ बजेको समयमा बस्तीभन्दा तलतर्फबाट अचानक पहिरो खसेपछि स्थानीयका घर तथा आसपासको जमिन जोखिममा परेको हो ।

पहिरोका कारण स्थानीय भूमिराज कँडेलको घरको आँगन र पाली चर्किएको छ । घरको तलतर्फको जमिनमा पहिरो खसेपछि कच्ची घरसमेत जोखिममा परेको निसीखोला गाउँपालिका उपाध्यक्ष प्रेम बहादुर घर्तिले जानकारी दिनुभयो । पहिरो थप फैलिँदै गएमा घरमा क्षति पुग्न सक्ने भन्दै स्थानीय चिन्तित बनेका छन् । उपाध्यक्ष घर्तिका अनुसार गाउँभन्दा तलतर्फ रहेको सडक व्यवस्थित नहुँदा पहिरोको जोखिम बढेको हो । सडक निर्माणका क्रममा जमिन कटान भए पनि पानीको उचित निकास तथा आवश्यक संरक्षणको काम नहुँदा वर्षात्को पानीका कारण जमिन कमजोर बनेर पहिरो खसेको उहाँको भनाई छ ।

पहिरो खसेपछि जोखिममा रहेका घरपरिवारको अवस्थाबारे जानकारी लिन सोमबार निसीखोला गाउँपालिकाका उपाध्यक्ष घर्तीसहित झिवाखोला प्रहरीको टोलीले घटनास्थलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा घरहरू पहिरोको उच्च जोखिममा रहेको पाइएपछि तत्कालका लागि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा रहनकोलागि आग्रह गएिको छ ।

“पहिरोका कारण घर वरपरको जमिनमा चिरा पर्न थालेको छ , घरको तलतर्फबाट पहिरो झरेका कारण माथिल्लो भागमा रहेका घरहरू समेत जोखिममा परेका हुन् , लगातार वर्षा भएमा पहिरो थप फैलिन सक्ने र घरहरूमा क्षति पुग्न सक्ने सम्भावना रहेको छ ”उपाध्यक्ष घर्तिले भन्नुभयो । घटनास्थलको अवस्थालाई हेर्दा तत्काल पहिरो रोकथाम तथा जोखिम न्यूनीकरणका काम आवश्यक देखिएपनि पहिरो ठूलो रहेको कारण रोकथाकको लागि भने तत्काल सम्भव नरहेको उपाध्यक्ष घर्तिले जानकारी दिनुभयो ।

पहिरोका कारण घर जोखिममा परेपछि सुरक्षित स्थानमा सार्नको लागि परिवारलाई तत्काल आवश्यक राहत तथा सुरक्षित आवासको व्यवस्था पालिकाले व्यवस्थापन गर्ने उपाध्यक्ष घर्तिलेजानकारी दिनुभयो ।