बागलुङ । आर्थिक वर्ष २०८२÷८३ मा १५ दशमलव ५ किलोमिटर पदमार्ग निर्माण भएको छ । एकीकृत सेवा कार्यालय बागलुङमार्फत सञ्चालन भएका ६१ योजनामध्ये ५७ वटा योजना सम्पन्न भएपछि उक्त परिमाणमा पदमार्ग निर्माण भएको हो ।
कार्यालयका सामाजिक विकास तथा शिक्षा शाखा प्रमुख श्यामकुमार थापाका अनुसार पदमार्ग निर्माणका लागि रु तीन करोड ३५ लाख विनियोजन भएकामा रु तीन करोड खर्च भएको छ । कार्यालयले पदमार्ग निर्माणमा ९३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ ।
न्यूनतम रु पाँच लाखदेखि रु १० लाखसम्मका लागतमा निर्माण भएका अधिकांश पदमार्ग धार्मिक तथा पर्यटकीयस्थल केन्द्रित छन् । सबै योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिएको थापाले बताउनुभयो ।
“प्रतिकूल भूगोल, मौसमलगायतका कारण रु ३५ लाख बजेटका चार योजना कार्यान्वयन हुन सकेनन्,” थापाले भन्नुभयो, “पर्यटकीय पूर्वाधारको महत्वपूर्ण आधार पदमार्ग निर्माण भएपछि पर्यटक तथा पैदलयात्रुलाई आवतजावतमा सहज भएको छ ।”
ढोरपाटनदेखि बुकी, फागुने र सुर्तिबाङ जोड्ने चक्रिय पदमार्ग भने ढोरपाटन सिकार आरक्षसँग सम्बन्धित कारणले कार्यान्वयन हुन सकेन । रु १५ लाख बजेटमा पदमार्ग विस्तार थालिए पनि योजना सम्पन्न हुन नसकेको कार्यालयले जनाएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा ताराखोलाको ढुङ्गा छापेर रेलिङसहित एक सय मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष मनकुमारी शर्माले जानकारी दिनुभयो । त्यस्तै गलकोट नगरपालिका–५ हरिचौर–सिमलबोटमा दुई सय २० मिटर पर्यटकीय पदमार्ग निर्माण भएको छ ।
निसीखोला गाउँपालिका–५ को धार्मिक तथा पर्यटकीयस्थल अर्नाकोट पर्यटन पदमार्ग क्रमागत रूपमा निर्माण भइरहेको छ । काठेखोला गाउँपालिका–२ को दारेगौडादेखि कान्छो धौलागिरि जोड्ने पर्यटकीय पदमार्गलगायत ५७ योजना कार्यान्वयन भएका छन् ।
त्यस्तै बागलुङ नगरपालिका–७ को दानबिसौना पदमार्ग, बडिगाड गाउँपालिकाको दोभाखोलादेखि पुरानो गाउँ जाने पदमार्ग, निसीखोलाको असारेडाँडादेखि खेड्ती ओढार, धर्मपाटादेखि न्याउलाकोट हुँदै जाने पदमार्ग, ढोरपाटनको पुरानो गाउँदेखि छापोपाट लाममेला, तमानखोलाको भुजेलघर–उपल्लोगाउँ, ढोरपाटनको रिनामदेखि पाटा तथा शिवालय माविदेखि घैयाखानी पदमार्ग निर्माण भएका छन् ।
यसैगरी नेरठाँटी–रायफेदी–घरससा–सतीपोखरा, जैदी चनारे दलित टोलदेखि साउनपानी–मुडियाखोला–सतीपोखरा, शान्ति सामुदायिक वनदेखि रुख सत्यवती मन्दिर, काठेखोलादेखि खलडाँडा–पाल्ले, जेठी दारे गोठी–कान्छी घोलमिरी तथा हिमरखोला फेदीदेखि भैरवस्थान जाने पदमार्ग निर्माण भएका छन् । तंग्राम–बसन्तापदेखि झुलेनी, तल्लो कुकेनी–आठमुरे, नुनथला–धारापानी, लहरेपिपल–निसीपानीदेखि पाडाँडाँडा हुँदै सिमप्राप्ति चोक, मानेखोला उकालो–कुनोपनारा–बाछेपानी तथा सिम्लेचौतारा–लाकुरिया–रुख पुर्केली हुँदै रिठेडाँडासम्मका पदमार्गसमेत निर्माण गरिएको कार्यालयले जनाएको छ ।
