• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै खाद्य प्रविधि कार्यालय

बागलुङ । खाद्य पदार्थको गुणस्तर, सरसफाइ तथा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले बजार अनुगमनलाई तीव्रता दिएको छ ।

कार्यालयले बुधबार बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताल परिसरका विभिन्न सेवा तथा बजार क्षेत्रका खाजा पसल र फार्मेसीमा अनुगमन गरेको हो । अनुगमन टोलीले धौलागिरि प्रादेशिक अस्पतालको फार्मेसी, चमेनागृह तथा पोषण पुनःस्थापना केन्द्रका साथै बजार क्षेत्रका चारवटा फार्मेसी र चारवटा खाजा पसलको अनुगमन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका डिभिजन प्रमुख सुमन लामिछानेले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अस्पतालको चमेनागृह तथा बजारका खाजा पसलमा गम्भीर प्रकृतिका त्रुटि तथा खाद्य सुरक्षामा तत्काल ठूलो असर पार्ने समस्या फेला नपरेको कार्यालयले जनाएको छ । यद्यपि, केही स्थानमा सामान्य स्वास्थ्य तथा सरसफाइसँग सम्बन्धित कमजोरी देखिएकाले तत्काल सुधार गर्न व्यवसायी तथा सम्बन्धित पक्षलाई सचेत गराइएको लामिछानेले बताउनुभयो । खाना तथा खाजाको गुणस्तर कायम गर्नका लागि खाद्य सामग्रीको सुरक्षित भण्डारण, पकाउने तथा वितरण गर्ने स्थानको सरसफाइ, भान्सामा प्रयोग हुने उपकरणको सफाइ र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सुझाव दिइएको छ । खाद्य पदार्थ तयार गर्ने तथा बिक्री गर्ने स्थानमा स्वच्छता कायम राख्नुका साथै उपभोक्ताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न अनुगमन टोलीले आग्रह गरेको थियो ।

विशेषगरी अस्पतालको चमेनागृहमा बिरामी तथा बिरामीका कुरुवालाई लक्षित गरी पोषणयुक्त र स्वास्थ्यवर्धक खाना तथा खाजा उपलब्ध गराउन सुझाव दिइएको छ । चमेनागृहमा चिल्लो तथा धेरै तारेका खाजाको मात्रा कम गरी अंकुरित खानेकुरा, गेडागुडी तथा अन्य पोषणयुक्त परिकारलाई प्राथमिकता दिनुपर्नेमा अनुगमन टोलीले जोड दिएको हो ।
अस्पतालमा उपचार तथा स्वास्थ्य सेवाका लागि आउने बिरामीको खानपान पनि उपचार प्रक्रियाकै महत्वपूर्ण पक्ष भएकाले चमेनागृहबाट उपलब्ध गराइने खाद्य सामग्रीको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने डिभिजन प्रमुख लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार बजार अनुगमनको उद्देश्य व्यवसायीलाई दुःख दिने वा कारबाही गर्ने मात्र नभई खाद्य पदार्थको गुणस्तर कायम गराउने, उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने र व्यवसायीलाई आवश्यक मापदण्डबारे जानकारी गराउनु पनि हो । सामान्य कमजोरी देखिएका स्थानमा सुधारका लागि सचेत गराउने र गम्भीर प्रकृतिका समस्या देखिएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ, उपभोक्ता मञ्च बागलुङलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए । विभिन्न निकायबीचको समन्वयमा गरिएको अनुगमनले बजारमा खाद्य पदार्थको गुणस्तर तथा उपभोक्ता हितसम्बन्धी विषयमा निगरानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चाडपर्व नजिकिँदै जाँदा बजारमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले त्यसैको फाइदा उठाउँदै मूल्य वृद्धि, कृत्रिम अभाव, कालोबजारी तथा गुणस्तरहीन खाद्य सामग्रीको बिक्री हुनसक्ने अवस्थालाई ध्यानमा राखेर अनुगमनलाई थप प्रभावकारी बनाइने कार्यालयले जनाएको छ । डिभिजन प्रमुख लामिछानेले चाडपर्वको समयमा बजारमा विशेषगरी चिनी लगायतका दैनिक उपभोग्य सामग्रीको कालोबजारी तथा कृत्रिम अभाव हुनसक्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरी नियमित तथा प्रभावकारी अनुगमन गरिने बताउनुभयो । बजारमा देखिन सक्ने समस्या पहिचान गरी समयमै नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

“बजार अनुगमनलाई थप प्रभावकारी बनाएर सबै क्षेत्रमा पु¥याउन आवश्यक छ,” लामिछानेले भन्नुभयो, “सरोकारवाला निकायसँग समन्वय गरेर अनुगमनलाई निरन्तरता दिइनेछ ।”
कार्यालयले आगामी दिनमा पनि जिल्लाका विभिन्न बजार, खाद्य उद्योग, होटल तथा रेस्टुरेन्ट, खाजा पसल, अस्पतालका चमेनागृह र अन्य खाद्य व्यवसायमा अनुगमन गर्ने जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य वस्तुको गुणस्तर, सरसफाइ र सुरक्षित प्रयोगका विषयमा व्यवसायीलाई सचेत गराउँदै आवश्यकताअनुसार कारबाहीसमेत अघि बढाइने कार्यालयको भनाइ छ ।

अनुगमनका क्रममा व्यवसायी तथा सम्बन्धित पक्षलाई खाद्य सामग्रीको गुणस्तर कायम राख्न, म्याद गुज्रेका तथा गुणस्तरहीन सामग्री बिक्री नगर्न, खाद्य पदार्थ सुरक्षित रूपमा भण्डारण गर्न तथा बिक्रीस्थल र भान्सा क्षेत्रको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ ।