बागलुङ। कालीगण्डकी नदीमा आएको बाढीले क्षति पु¥याएपछि अवरुद्ध बनेको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल १५ दिनपछि सञ्चालनमा आएको छ ।
पुलको पहुँचमार्ग पुनर्निर्माण सम्पन्न भएसँगै सोमबार बिहान १० बजेदेखि सवारीसाधन वारपार गर्न थालेका हुन् । पुल सञ्चालनमा आएसँगै लामो समयदेखि यातायातको असहजता भोगिरहेका बागलुङवासीमा खुशीयाली छाएको छ ।
गत असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पर्वततर्फको मालढुङ्गा पुलको पहुँचमार्ग बगाएपछि पुलबाट हुने सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको थियो । पहुँचमार्गमा क्षति पुगेपछि बागलुङ र पर्वतबीचको महत्वपूर्ण सडक सम्पर्क टुटेको थियो । त्यसको प्रत्यक्ष असर स्थानीय नागरिक, यातायात व्यवसायी, व्यापारी तथा दसैँ मनाउन गाउँघर आउने यात्रुमा परेको थियो ।
पुल अवरुद्ध हुँदा बागलुङबाट पर्वत हुँदै अन्य जिल्ला जाने तथा बाहिरी जिल्लाबाट बागलुङ आउने सवारीसाधन प्रभावित भएका थिए । दसैँजस्तो चाडपर्वको मुखमा सडक अवरुद्ध भएपछि यात्रुले आवतजावतमा सास्ती भोग्नुपरेको थियो । नियमित यातायात सेवा प्रभावित हुँदा व्यापारिक गतिविधि र जिल्लामा आउने पर्यटकको आवागमनमा समेत असर परेको थियो ।
बाढीले बगाएको करिब ३५ मिटर पहुँचमार्ग पुनर्निर्माण गरेपछि पुल सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ । सडक डिभिजन कार्यालय पोखराको नेतृत्वमा दिनरात काम गरेर पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरिएको हो ।
सडक डिभिजन कार्यालय पोखराका डिभिजन प्रमुख कृष्णराज अधिकारीका अनुसार क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरिएको थियो ।
“धेरै चुनौती थिए यो पुल नमुना पुल पनि हो यसलाई संरक्षण गर्नु पर्ने पनि छ ,हामीले समुहमा जिम्मेवारी बाडेर काम गरेका थियौँ,बागलुङ जिल्लाका विभिन्न निकायबाट पनि सहयोग भयो र काम सम्पन्न गर्न सजियो भयो ”डिभिजन प्रमुख अधिकारीले भन्नुभयो ।
बागलुङसहित पूर्वी रुकुमलगायतका जिल्लालाई अन्य क्षेत्रसँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस मार्गबाट दैनिक हजारौ सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।
नियमित यातायात सञ्चालन हुँदा स्थानीय बजारमा आवश्यक सामग्रीको आपूर्ति र ढुवानीमा सहजता आउने स्थानीय डम्मर मल्लको भनाई छ ।
दसैँको मुखमा महत्वपूर्ण सडक सम्पर्क अवरुद्ध हुँदा बागलुङवासीले निकै सास्ती भोग्नुपरेको थियो । चाडपर्व मनाउन घर फर्किने यात्रु, आफन्त भेटघाटका लागि आवतजावत गर्ने नागरिक तथा व्यापारिक प्रयोजनका लागि यात्रा गर्नेहरू प्रभावित भएका थिए ।
धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण जिल्ला हो बागलुङ । जिल्लाका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलमा पुग्न बाहिरी जिल्लाबाट आउने पर्यटकका लागि सहज सडक सम्पर्क आवश्यक हुन्छ । मालढुङ्गा पुल सञ्चालनमा आएपछि बागलुङ आउने पर्यटकको आवागमन सहज हुने अपेक्षा गरिएको अत्युत दास बताउनुहुन्छ बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण महत्वपूर्ण सडक संरचनामा क्षति पुग्दा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको जनजीवन र स्थानीय अर्थतन्त्रमा पर्ने गरेको छ ।
मालढुङ्गा पुल सञ्चालनमा आउनु बागलुङको यातायात सम्पर्क पुनःस्थापित हुनुका साथै स्थानीय नागरिकको दैनिक जीवन सहज बनाउने महत्वपूर्ण उपलब्धि बनेको छ ।
