• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

आदर्श समाचार प्रभाव : काठेखोला गाउँपालिकाले गर्यो भाडाको गाडी फिर्ता

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले भाडामा लिएर संचालन गर्दै आएको गाडी फिर्ता गरेको छ । गत भदौ १८ गते आदर्श सञ्चार डटकममा  ‘काठेखोलामा कार्यपालिका सदस्यदेखि हाकिमसम्मलाई गाडी सुविधा : इन्धनमा मात्रै २४ लाख खर्च’ शिर्षकमा समाचार प्रकाशन भएपछि गाउँपालिकाले आज (बुधबार) भाडाको गाडी फिर्ता गरेको हो ।

हालसम्म तीन वटा चार पाङ्ग्रे गाडी संचालन गर्दै आएको पालिकामा अब भने दुई वटा मात्रै गाडी संचालन हुने छन् । बुधबारदेखि भाडाको गाडी फिर्ता गरेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । एउटा गाडी कम हुँदा गाउँपालिकाको वार्षिक रु १५ लाख जोगिने उहाँको भनाइ छ ।

गाउँपालिकामा अब १७ वटा मोटरसाइकल तथा स्कुटर र दुई वटा गाडी हुने छन् । गाउँपालिकाका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा (तिलक) र प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की तीन जनाले नै गाडी प्रयोग गर्दै आएका थिए । पालिकाले वार्षिक गाडी भाडा मात्रै ९ लाख ६० हजार रुपैयाँ तिर्दै आएको थियो ।

चालकको तलब तीन लाख २४ हजार रुपैयाँ (भत्ताबाहेक) र मासिक न्यूनतम २० हजार रुपैयाँ भाडाको गाडीमा इन्धन प्रयोग हुने गरेको थियो । मर्मत खर्च छुट्टै आउने गाउँपालिकाका लेखा अधिकृत माधव शर्माले जानकारी दिनुभयो । वार्षिक इन्धनमा करिब २४ लाख खर्च हुने गरेको उहाँको भनाइ छ । गाउँपालिकामा डोजरसमेत हुँदा त्यसमा बढी इन्धन लाग्ने शर्मा बताउनुहुन्छ ।

लेखा अधिकृत शर्माले पालिकाको सवारी साधान मर्मतमा वार्षिक झण्डै २२ लाख रुपैयाँ खर्च हुने गरेको जानकारी दिनुभयो । नेपाल सरकारले उपसचिवभन्दा माथिल्लो पदका कर्मचारीलाई मात्र गाडीको सुविधा दिए पनि काठेखोलाले गाउँपालिकाका हाकिमलाईनै गाडी सुविधा दिएको थियो ।

गाउँपालिकाले कार्यापालिका सदस्य टीका संगम विकलाई पनि मोटरसाइकल सुविधा दिएको छ । मोटरसाइकलमा इन्धन भने स्वएम् विकलेनै हाल्नु पर्ने पालिकाले जनाएको छ ।

यस पालिकाका अधिकांश कर्मचारीले कार्यालयभन्दा बाहिरको समयमा पनि पालिकाकै मोटरसाइकल प्रयोग गर्दै आएका छन् । कर्मचारी बजार नजिक भएको बहानामा गाउँपालिका वरपर बस्दैनन् । हरेक दिन बागलुङ बजारबाटै आउजाउ गर्ने गर्छ । तर यसलाई भने गाउँपालिकाले रोक्न सकेको छैन ।