• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

बागलुङमा तीन दिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाइँदै

बागलुङ । बागलुङमा विभिन्न कार्यक्रम गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइने भएको छ । बुधबार जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले संविधान दिवस मनाउनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्व बागलुङ नगरपालिकाका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रमुख÷प्रतिनिधिहरु, कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, पत्रकार महासंघ बागलुङ र सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव रहने संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम आयोजक समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी असोज २, ३ र ४ गते तीन दिन सम्म संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ भव्यताका साथ मनाउने निर्णय गरेको छ । तीनै दिन जिल्ला स्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघ संस्थाका कार्यालयहरुको छत, वरण्डा परिसरमा सरसफाईका गर्नुका साथै निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ सम्पूर्ण कार्यालयहरुमा दीप प्रज्ज्वलन गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनु भयो ।

उहाँका अनुसार असोज २ गते नेपाल बार एसोशियसनको संयोजनमा धौलागिरी प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गर्ने, शिक्षा विकास तथा समन्वय इकाई र बागलुङ नगरपालिका शिक्षा शाखाको समन्वयमा फरक क्षमता भएका विद्यार्थीहरुलाई हितकर शैक्षिक तथा खेलकुद सामाग्री वितरण गर्ने, उद्योग बाणिज्य संघको संयोजनमा मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गर्ने, गैर सरकारी संस्था महासंघको संयोजनमा बागलुङ कारागारका कैदी बन्दीहरुलाई खेलकुद सामाग्री वितरण गर्ने, स्थानीय छापा तथा विद्युतीय सञ्चार एवं सामाजिक सञ्जालको माध्यमबाट संविधान दिवस तथा राष्ट्रिय दिवससँग सम्बन्धित सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रमहरु प्रकाशन–प्रशारण गर्न पत्रकार महासंघ मार्फत अनुरोध गर्ने, आम नागरिकहरुलाई आ–आफ्नो घरको छत, बरण्डामा राष्ट्रिय झण्डा सजाउन, सरसफाई गर्न र दिपावली गर्न आव्हान गर्ने निर्णय गरिएको छ ।

स्थानीय तहहरुको संयोजनमा भव्यताका साथ रचनात्मक, सिर्जनात्मक,सन्देशमूलक तथा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी मनाउन जिल्लाका सबै स्थानीय तहहरुलाई अनुरोध गर्ने, आ–आफ्नो स्थानीय तह भित्रका ऐतिहासिक आन्दोलनहरुका सहित परिवार तथा घाइतेहरुलाई सम्मान गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने र असोज ३ गते बिहान ७.३० बजे बागलुङ नगरपालिको संयोजनमा ऐतिहाँसिक पार्कबाट वाङ्गेचौर स्थित सहिद पार्कमा पुगी राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता गणतन्त्र र संविधानका लागि आफ्नो जिवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सहिदहरुको चीरशान्तीको कामना सहित उच्च सम्मानका साथ सहिदहरुको प्रतिमामा माल्यार्पण ÷ मौनधारण गर्ने, साँझ ६ बजे बागलुङ नगरपालिकाको संयोजनमा ऐतिहाँसिक पार्कमा सामुहिक दिप प्रज्ज्वलन गर्ने निर्णय गरिएको छ ।