• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

संविधान दिवस, संक्रमणकाल र सचेतता

  • २०८२ आश्विन ३, शुक्रबार

सम्पादकीय
२०६२/६३ को ऐतिहासिक दोस्रो जनआन्दोलन । जसले सयौं वर्षको शासन सत्तामा रजगज चलाइरहेको राजतन्त्रात्मक शासन व्यवस्थालाई घुँडा टेकायो । तत्कालीन राजा ज्ञानेन्द्र शाह सत्ता च्यूत भए । र राजनीतिक दलहरुको नेतृत्व र अगुवाई, नागरिक समाज, आमनागरिकको अभूतपूर्व साथ समर्थनबाट मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । ऐतिहासिक आन्दोलनको सफलता सँगै २०६३ सालमा नेपालको अन्तरिम संविधान जारी गरियो । यसक्रममा नयाँ संविधान निर्माण गर्ने पहिलो संविधानसभाको प्रयास बिफल भयो । दोस्रो पटक गठित संविधानसभाबाट भने २०७२ साल असोज ३ गते नयाँ संविधान जारी गर्ने सफलता मिल्यो । यही दिनको सम्झनामा हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । तर, यसपटक भने संविधान दिवस सरकारले सामान्य रुपमा मनाउने निर्णय गरेको छ । कारण संविधान नै धरापमा परिरहेको छ । कठिन संकटबाट बल्लतल्ल संविधान र गणतन्त्रात्मक व्यवस्था जोगिएको छ ।

संविधान जोगिए पनि जेनजी प्रदर्शनकारीको माग अनुसार प्रतिनिधि सभा विघटन गरिएको छ । जेनजी युवा आन्दोलनपछि वर्षौदेखि नेपालको शासन सत्तामा रजगज चलाएका प्रमुख र पुराना राजनीतिक दलहरु रक्षात्मक अवस्थामा पुगेका छन् । नेपालको संविधानले मुख्यतः गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतालाई आत्मसाथ गरेको छ । यही व्यवस्थाका कारण नेपालको संविधानलाई प्रगतिशील संविधानको रुपमा लिइने गरिएको छ । तर, यसबेला संविधानकै खिलापमा गतिविधिहरु हुन थालेका छन् । जेनजी आन्दोलनकारी अहिलेको संविधान र व्यवस्था भत्काएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा देखिएका छन् । अर्कोतर्फ पूर्व राजावादीहरु अहिलेको संक्रमणकालको फाइदा उठाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः गद्दिमा ल्याउने कसरतमा छन् । उनीहरु देशलाई दीर्घकालिन द्वन्द्वमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्यूह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाएर नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी हुनुपर्ने बताउन थालेका छन् । यता, बहुदलीय व्यवस्थाका लागि लडेका, जेलनेल भोगेका राजनीतिक दल र तिनका शीर्ष नेताहरु भने जेनजी आन्दोलन पछि पनि सुध्रिने अवस्थामा देखिएका छैनन् ।

संविधान राष्ट्रको मूल कानुन हो । जसले सरकारको शासकीय स्वरूपलाई निर्धारण गर्दछ । यसले सरकारको अधिकारलाई सीमित गरी जनताका अधिकारलाई सुरक्षित गर्ने तथा सरकारका अङ्गहरू बिच शक्तिको वितरण र सन्तुलन गर्ने काम गर्छ । जेनजी आन्दोलन पछि वर्तमान संविधान नै धराशयी हुने खतरामा राष्ट्रपति रामचन्द्र पौडेलको दृढ अडानबाट जोगिएको त छ । तर, अझै पनि खतरा टरिसकेको छैन । जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भए पनि संविधान र लोकतान्त्रिक गणतन्त्र माथि आक्रमण हुनसक्ने खतरा व्याप्त छन् । अहिले सिंहरदबार, संसद भवन, सर्वोच्च अदालत माथि आगो लगाएर खरानी बनाउनेहरु संवैधानिक व्यवस्थालाई कमजोर बनाउन सुनियोजित षड्यन्त्रमा भइरहेको प्रष्ट छ । जो जसका कारणले आज संविधान खतरामा पर्ने अवस्था बनेको छ, उनीहरुलाई पनि खबरदारी गरौं । यो संक्रमणकालीन घडीमा ठूलो बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि, संविधान र व्यवस्थाको रक्षा गर्नुपर्ने दायित्वबाट कोही पनि बिचलित हुनुहुन्न । देश, संविधान र व्यवस्था रहे पछि मात्र हामी हाम्रा आवाजहरु निर्वाध ढंगले बुलन्दित गर्न सक्छौ, असक्षम आडम्बरी पात्रहरु त आन्दोलन र निर्वाचनबाट किनारा लगाउन सक्छौ । त्यसैले, संविधानको रक्षालाई नै केन्द्रमा राखेर आजको समयमा अघि बढ्न आवश्यक छ । संविधान माथि खतरा पैदा भइरहेकाले हालसम्मको राजनीतिक उपलब्धि रक्षाका लागि खबरदारीसहित संविधान दिवस मनाऔं । न कि अहिलेको संक्रमणकालको फाइदा कुनै पनि देशी, विदेशी, गलत तत्वहरुले फाइदा लिन नसकोस् ।

  • २०८२ आश्विन ३, शुक्रबार