बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले पाँच शैयाको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नम्बर ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडिनै गाउँ गाउँमा आधारभूत स्वास्थ्य सेवा पुयाएको थियो ।
नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।
पालिकाका सात वडामा सात स्वास्थ्य चौकी, चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तंग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्य चौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । टाढाका गाउँलेलाई लक्षित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताउनुभयो ।
गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उहाँको भनाइ छ । १६ महिनामा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीले वि.सं. २०८१ साउनदेखि काम सुरु गरको थियो । करिब छ महिना अगावै काम सकिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “हरेक नागरिकले सहज रुपमा स्वास्थ्य उपचार गर्न पाउनु पर्छ भन्ने हेतुले पालिकाको विभिन्न वडामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर पहिलेदेखि नै सेवा दिँदै आएका छौँ, अब एउटा अस्पताल पनि आवश्यक देखिएको हुँदा वडा नम्बर ७ मा पाँच शैयाको अस्पताल निर्माण सम्पन्न भएको छ, केही समयमै सेवा सुचारु हुनेछ ।”
काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछानेले यो वडा सबैभन्दा ठूलो रहेको र यहाँ स्वास्थ्य चौकी मात्रै रहेको हुँदा आधारभूत अस्पताल निर्माण गरेको बताउनुभयो । अब स्वास्थ्य चौकीको सेवा आधारभूत अस्पतालमै गाभिने र सेवा थप गरेर प्रवाह गरिने उहाँको भनाइ छ ।
पछिल्लो पाँच वर्षमा काठेखोलाले वडा नम्बर ८ कादेसमा स्वास्थ्य एकाइ, वडा नम्बर १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नम्बर ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नम्बर ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ ।
