बागलुङ । जोन कार्यक्रमले कृषि उत्पादन बढाउदै लगेको छ । बागलुङ र पर्वत जिल्लामा सञ्चालित छ वटा जोन कार्यक्रमले उत्पादनमा वृद्धि गर्दै आएको तथ्याङ्कले देखाउछ । बागलुङ र पर्वतमा पछिल्लो समय छ वटा जोन सक्रिय रहेका छन् । राष्ट्रिय आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई बागलुङ मार्फत बागलुङ र पर्वत जिल्लामा मकै जोन, आलु जोन, धान जोन, तरकारी जोन, बाख्रा जोन र अलैची जोन सञ्चालनमा ल्याइएको छ ।
उक्त जोन कार्यक्रमले उत्पादनमा १२ प्रतिशतदेखि ११९ प्रतिशत सम्म वृद्धि गर्न सफल भएको छ । आर्थिक वर्ष २०७३/७४ मकै जोनबाट सुरुभएको कार्यक्रम बागलुङ र पर्वत जिल्लाको २२ स्थानीय तहमामा क्रमश आलु, तरकारी, बाख्रा, धान र अलैची जोनमा विस्तार भएको हो । जोन कार्यक्रमको केही वडा गुल्मीको मदाने गाउँपालिका समेत जोडिएको छ ।
राष्ट्रिय आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाईका वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले जोन स्थापनाले कृषि उत्पादनमा वृद्धि गरेको बताउनुभयो । उहाँले उत्पादनलाई एकिकृत गर्न जोन कार्यक्रम प्रभावकारी बनेको बताउनुभयो ।
उहाँका अनुसार आर्थिक वर्ष २०७३/७४ मा स्थापना भएको मकै जोन कार्यक्रमले पर्वत जिल्लाको फलेवास नगरपालिका, महाशिला गाउँपालिका र बिहादी गाउँपालिकामा ३६ प्रतिशतले उत्पादनमा वृद्धि गराएको छ । जोन स्थापना पूर्व ५८३ हेक्टरमा मकै खेती गरिएको उक्त स्थानमा अहिले ७९८ हेक्टरमा मकै खेती गरेर उत्पादनमा वृद्धि गरिएको हो ।
यस्तै आर्थिक वर्ष २०७५/७६ सालमा स्थापना गरिएको आलु जोन कार्यक्रमले सात पालिकाको आलु उत्पादनमा १२ प्रतिशतले वृद्धि गरेको छ । आलु जोन बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका, मालिका गाउँपालिका र मदाने गाउँपालिकामा क्षेत्र विस्तारसंगै उत्पादनमा वृद्धि गराएको हो । आलु जोन स्थापना अघि ५४४ हेक्टरमा आलुखेति गरिदै आइएको थियो भने जोन स्थापनापछि ६१० हेक्टर पुगेको छ ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा स्थापना भएको धान जोन कार्यक्रमले ११९ प्रतिशत उत्पादनमा वृद्धि गरेको छ । जोन स्थापना अघि पर्वत जिल्लाको कुस्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका, विहादी गाउँपालिका र पैयु गाउँपालिकामा धानको उत्पादन बढाएको छ । जोन स्थापना अघि उक्त स्थानमा ६५० हेक्टर क्षेत्रफलमा धान खेती भएपनि जोन स्थापान पश्चात बढेर एक हजार ४२७ हेक्टर पुगेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा स्थापना गरिएको तरकारी जोन कार्यक्रमले पर्वत जिल्लाको तीन वटा स्थानीय तहमा १५ प्रतिशतले तरकारी उत्पादनमा वृद्धि गरेको पौडेलले जानकारी दिनुभयो ।
पर्वत जिल्लाको जलजला गाउँपालिका, कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा सञ्चालित तरकारी जोन कार्यक्रम स्थापना अघि ५७० हेक्टरमा तरकारी खेती गरेकोमा जोन स्थापना पछि वृद्धि भएर ६५५ हेक्टर पुगेको छ ।
यस्तै आर्थिक वर्ष २०७८/७९ मा स्थापना भएको बाख्रा जोन कार्यक्रमले बाख्राको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको पाइएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा सञ्चालित बाख्रा जोन कार्यक्रमले १४ हजार ८३८ बाख्राको संख्यमा वृद्धि भएको छ ।
यस्तै गत आर्थिक वर्षमा बागलुङका ८ स्थानीय तहमा अलैची जोन कार्यक्रम विस्तार गरिएको छ । अलैचीको संभावना रहेको उक्त स्थानमा ३३० हेक्टर जमिनमा अलैची खेती रहेको छ । पहिलो वर्षमै ९ हेक्टर जनिममा अलैची खेती विस्तार गरिएको छ भने उत्पदानमा क्रमश वृद्धि हुने अपेक्षा गरिएको छ ।
