• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

चतुर्मासको अवसरमा अखण्ड विष्णुसहस्रनाम पाठपारायण

  • २०८२ कार्तिक २३, आईतवार

बागलुङ । बागलुङ नगरपालिका–५ स्थित श्री गण्डकी गोपाल गोवंश संरक्षण केन्द्रमा चतुर्मासको अवसर पारेर अखण्ड दिव्य श्रीविष्णुसहस्रनाम पाठपारायण गरिएको छ । असार २२ गते हरिशयनी एकादशीदेखि सुरु भएको अखण्ड पाठपारायण आज समापन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएको छ ।

विभिन्न जिल्लाका गुरुले चार महिनासम्म निरन्तर १४ हजार आवृत्ति पाठ गरिएको श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट विकास परिषद्का अध्यक्ष जगन्नाथ आचार्यले जानकारी दिनु भयो । चार महिनामा भगवान विष्णुका एक हजार पवित्र नामलाई एक करोड ४० लाखपटक पाठ गरिएको छ ।

आइतबार श्रीविष्णुसहस्रनाम पाठपारायणको महापूर्णाहूति, तिलकप्रसाद वितरण, महाअभिषेक एवं गुरुजन र पत्रकार सम्मान कार्यक्रम आयोजना गरिएको पाठपारायणका सङ्कल्पकर्ता श्रीकृष्णमुरारी आचार्यले बताउनु भयो । वैदिक सनातन धर्म र गौमाता संरक्षणको सन्देश दिने उद्देश्यले श्रीविष्णुसहस्रनाम पाठपारायणको आयोजना गरिएको उहाँले बताउनु भयो । उक्त अवसरमा अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले यस वर्ष एकैसाथ विभिन्न ठाउँमा यज्ञ अनुष्ठान सम्पादन भइरहेको बताउनु भयो
वैदिक सनातम धर्मको रक्षा, गौवंश र जलसम्पदाको संरक्षण एवं धार्मिक पर्यटन प्रवद्धनको उद्देश्य लिइएको उहाँको भनाइ छ । पर्वतको जलजला गाउँपालिका–५ हम्पालमा पनि कालाञ्जर महायज्ञ भइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । मुस्ताङको मुक्तिनाथमा आयोजित श्रीमुक्तिनाथ षाड्मासिक महायज्ञ र भक्तपुरको श्रीपञ्चमहालक्ष्मी मन्दिर श्रीपीठम्मा श्रीमद्वाल्मीकीय रामायण ज्ञानमहायज्ञ भने सम्पन्न भइसकेको छ ।

सर्वसिद्धिधाम पञ्चकोटसँगै २०७१ सालमा स्थापना गरिएको गण्डकी गोपाल गोवंश संरक्षण केन्द्रमा हाल ५५ वटा स्थानीय जातका गाई रहेका छन् । वैदिक संस्कृतिमा महत्वपूर्ण मानिने गाईको संरक्षणका लागि गोवंश संरक्षण केन्द्र स्थापना गरिएको हो ।

  • २०८२ कार्तिक २३, आईतवार