• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

बलेवाबासीको गुनासो : सिंचाइको व्यवस्था छैन्, बाँदरले हैरान बनाए

बागलुङ । घर–घरमा बाँदरले आतंक मच्चाएको छ । खेतबारीमा लगाएको तरकारी अन्नबाली राम्रोसँग पाकेर भित्राउन पनि पाईदैन घरभित्रै पसेर आतंक मच्चाएको छ यो आतंक रोक्ने उपाय खोजिदिनुप¥यो कसले रोकिदिने हो ? मंगलबार बागलुङ नगरपालिका कार्यालयले वडा नं. १४ नारायणस्थानमा आयोजना गरेको आर्थिक वर्ष २०८२।०८३ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख अन्य जनप्रतिनिधीलाई लक्षित गरी स्थानिय पूर्ण प्रकाश सुवेदीले नागरिकको तर्फबाट प्रश्न गर्नु भयो । यो प्रश्नमा सवै एक्यबद्धता जनाउँदै बाँदरले त हैरानै बनाएको छ भन्दै खासखुस गरे ।

बलेवा क्षेत्रमा मात्र हैन बागलुङ नगरपालिकाका अन्य क्षेत्रमा पनि बाँदरको आतंकले नागरिकहरु हैरानी खेप्नु परेको छ । यसमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जवाफ दिँदै भन्नुभयो किसानका हरेक समस्या हामी बुझ्दछौँ । बाँदर आतंक रोक्नका लागि विभिन्न स्थानमा हरेक प्रयास भएका छन्, तर कुनै पनि सफल भएका छैनन् । बाँदर नियन्त्रणको प्रयासमा स्थानिय सरकार सधै साथमा छ वर्तमान अवस्थामा भने कुनै उपाए छैन । बरु अन्न बालीको ठाउँमा बाँदरले नखाने अन्य कुनै प्रकारको खेती गर्ने उपाय खोज्ने होकी त्यसमा सवैले सोचौ कुनै उपाय भएमा नगरपालिकाले नियन्त्रणका निम्ती प्रयास गर्ने छ ।

नेपाल पत्रकार महासंघ बागलुङले सहजीकरण गरेको कार्यक्रममा सुवेदी सहित नारायणस्थानका १७ जना नागरिकले विभिन्न प्रश्नहरु राखेका थिए । स्थानिय कमल कुमार जिसीले नियमित बजेट र सार्वजनिक सम्पत्ती संरक्षणका साथै बोटविरुवाकै कारण बाँदरको आतंक बढेको हुँदा खेतीपातीमा समेत समस्या भएको बताउनु भयो । उहाँले सडक बत्ती गाउँमा पनि राख्नुपर्नेमा नगरपालिकालाई सुझाव दिनुभयो । त्यसैगरी स्थानिय लक्ष्मीनारायण श्रेष्ठले करिडोरको आसपासमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्ने र वडा तहमा कृषि प्राविधिको व्यवस्थापन गर्नुपर्ने माग राख्नुभयो । स्थानिय महानन्द पौडेलले यहाकै स्थानिले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै अतिक्रमण भएको जग्गा फिर्ता गराउन स्थानिय सरकारले जोड दिन आग्रह गरे भने पूर्व जनप्रतिनिधि समेत रहेका नारायण श्रेष्ठले सार्वजनिक जग्गा र बाटो नै अतिक्रमण भएको प्रति गुनासो गर्नु भयो ।

स्थानीय भिम बहादुर बोहोराले सडक बनेपनि नाली व्यवस्थापन नभएको प्रति गुनासो गर्नुभयो भने गणेश माविमा अध्ययनरत विद्यार्थी शिव लामिछानेले बालमैत्री घोषणा गर्दा लागुपदार्थ र सुत्तिजन्य पदार्थ किन्नका निम्ती अभिभावक पठाउने गरेको हुँदा यस्तो गर्नेलाई कानुनी कारबाही के हुन्छ भन्नै प्रश्न गर्नु भयो । कार्यक्रममा स्थानिय गणेश विक, बालमुकुन्द ढकाल, मेघनाथ पौडेल, बेदनिधी सुवेदी, मघु सुवेदी हरिबहादुर खड्का, दुर्गाबहादुर खत्री खेमकान्त पौडेल झलककुमार श्रेष्ठ लगायतले बलेवा विमानस्थल संचालन कालिगण्डकी करिडोर खण्डको काम अलपत्र परको, सिंचाइको उचित व्यवस्था नभएको र स्थानिय सडक सुधारका साथै नगरपालिकाको सेवा प्रवाह सम्बन्धी केही प्रश्न र सुझाव राखेका थिए ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले बलेवा विमानस्थल सर्वप्रथम बागलुङ विमानस्थलको रुपमा परिणत गराउनुपर्ने बताउनु भयो । उहाँले विमानस्थल संचालनका निम्ती पहिले सडक राम्रो हुनुपर्ने भन्दै सडक निर्माणाधिन अवस्थामा रहेको र यदी सडक बनेपनि विमान कम्पनीहरु तयार भएमा नियमित उडान भर्न सकिने बताउनु भयो । उहाँले विमानस्थल नियमित संचालन हुन नसकेमा यहाँ हवाई सम्बन्धी तालिम केन्द्रको रुपमा विकास गर्नका लागि जोड गरिने बताउनुभयो । त्यसैगरी अतिक्रमण भएका सार्वजनिक जग्गाम नयाँ नापि ल्याएर अतिक्रमण भएका जग्गा फिर्ता ल्याउनका लागि प्रयास थालिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नारायणस्थान लगायत बलेवा क्षेत्रमा धेरै सम्भावना रहेका कारण हरेक काम प्राथमिकताका आधारमा तय गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उपप्रमख राजु खड्काले बलेवा क्षेत्रका नागरिकले उठाएका प्रश्न र सुझावलाई मनन गर्दै आगामी दिनमा नगरपालिकाले कार्ययोजना बनाउने बताउनु भयो । नागरिकहरुका जवाफ दिँदै वडा अध्यक्ष चक्रबहादुर खत्रीले वडा कार्यालयबाट नागरिकलाई प्रदान गर्ने सेवामा कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । उहाँले वडा तहबाट सम्पादन हुने काममा आफुले सहजता अपनाएका बताउनु भयो । खत्रीले वडा कार्यालयमा भएको आगलागी प्रति खेद प्रकट गर्दै दोषीलाई कारबाहीको दायारामा ल्याउनका लागि सवैको सहयोगको पनि अपेक्षा व्यक्त गर्नु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले चालु वर्षको हाल सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यालयमा हाल सम्म चालु तर्फ २० करोड ६१ लाख ४१ हजार ८८१ रुपैयाँ र पुजिगत तर्फ तिन करोड बत्तिस लाख १७ हजार ४८७ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । नगरपालिकामा चालु आवको लागि वडा स्तरमा ४३५ नगरस्तरीय ३५९ संघिय सरकारबाट १३३ र प्रदेश सरकारबाट ३ वटा योजना तथा कार्यक्रम रहेका छन् । जसमा हाल सम्म जम्मा २५ वटा योजना सम्झौता भएका छन भने ३ वटा सम्पन्न भएको प्रशासकिय अधिकृत शर्माले बताउनु भयो ।

नगरपालिकामा सामाजिक सुरक्षा तर्फ ७ हजार ५०१ जना लाभग्राही रहेका छन् भने ७ करोड १९ लाख ९९ हजार ४४ रुपैयाँ पहिलो चौमासिकमा भत्ताको रुपमा वितरण गरिएको छ । नगरपालिकामा नगरकी छोरी कार्यक्रममा हाल सम्म ३६ जना आवद्ध भएका छन भने बैदेशिक रोजगारीमा जाने २४ जनाका लागि श्रम स्वीकृती प्रदान सहजीकरण गरिएको छ । नगरपालिकाबाट १३ जनालाई अपाङ्ता परिचय पत्र वितरण गरिएको छ भने न्यायिक समितिमा १३ वटा मुद्धा दर्ता भएका छन जसमा ४ वटा फछ्यौट गरिएको छ ।

नगरप्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत ९ लाख २८ हजार ९३७ रुपैयाँ साँवा व्याज अजुल गरिएको छ । नगरपालिकाले यस वर्ष देखी दिवा खाजाको रकम १५ रुपैयाँबाट ५ रुपैयाँ बृद्धि गरी २० रुपैयाँ पु¥याएको प्रशासकिय अधिकृत शर्माले जानकारी दिनुभयो । नगरक्षेत्रमा १९८ गाई तथा भैसीको कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको छ ।

त्यस्तै आप्रवासी श्रोत केन्द्र सहायता कक्षा मार्फत कुल २ हजार ७७४ व्यक्तिलाई सूचना तथा परामर्श उपलब्ध गराईएनुका साथै ३५ जना व्यक्तिलाई सुरक्षित स्वदेश फिर्ताको वातावरण मिलाइएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण पत्रकार महासंघका सचिव नारायण रिजालले गरेका थिए भने महासंघका उपाध्यक्ष सिर्जना पन्तले कार्यक्रममा समग्र टिप्पणी गर्नु भएको थियो । महासंघका सदस्य संगम घर्ति मगरले नागरिक सन्तुष्टी सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको आचरसंहिताको बारेमा महासंघका सदस्य अर्जुन कार्कीले प्रष्ट पर्नु भएको थियो ।