बागलुङ । प्रबिधिको सही प्रयो गरौं, लैंगिक हिंसा अन्त गरौं भन्ने नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान विश्वभर चलिरहेको छ । अभियानलाई प्रभावकारी रुपमा संचालनका लागि बागलुङ नगरपालिकाले अभियानको पहिलो दिन प्रभातफेरी सहितको शुभारम्भ कार्यक्रम सम्पन्न गरी पालिकाका १४ वटै वडाहरुमा कार्यक्रम संचालन गरिरहेको छ ।
अभियानको दोस्रो दिन १ नं वडा कार्यालय, तेस्रो दिन २ नं वडाको ऐतिहासिक पार्क र चौथो दिन ३ नं वडाको भलाटाकुरामा सरोकारवालाहरुबीच अन्तरक्रिया सहित कार्यक्रम संचालन भएको छ । कार्यक्रममा बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावितहरुको सेवा केन्द्रको नीति तथा कार्यक्रम, सेवा संचालन र प्रगति बिवरण प्रस्तुतीकरण गरिएको थियो । यसै गरी धौलागिरी अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र ओसिएमसी र जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले हिंसा प्रभावितहरुलाई गरिरहेको र गर्न सक्ने कामको बारेमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।

पालिकाकी महिला बालबालिका शाखा प्रमुख रचना आचार्य, धौलागिरी अस्पतालका डा.संदिप के.सी जिप्रकाबाट प्रहरी सहायक निरिक्षक श्रद्धा कुवरले आआफ्नो भनाई सहितको प्रस्तुतीकरण गर्नुभयो । सो अवसरमा मानसिक स्वास्थ्यबारे मनोसामाजिक मनोविमर्शकर्ताहरु ज्योती बिस्ट, सिलसिला श्रेष्ठ, लक्ष्मी बोहोरा, आरधाना उपाध्याय लगायत सहभागिहरुले पनि आफ्नो बिचार राख्नु भएको थियो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर उप प्रमुख एवं हिंसा प्रभावित सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काले प्रविधिको गलत प्रयोग र असाबधानीले परिवार तथा समाजमा ठूलो प्रभाव पारीरहेकाले प्रविधिको प्रयोग लैंगिक हिंसा न्यनिकरण र अन्तका लागि हुनु पर्नेमा सवैमा आग्रह गर्नु भयो । बाल बिवाह, बहुबिवाह, दुव्र्यसनी, अज्ञानता सहित हाम्रा पुराना मूल्य मान्यताका कारणले लैंगिक हिंसा घट्न नसकेको बताउदै कानुन कार्यान्वयनमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।
अभियानलाई प्रभावकारी बनाउन गत बर्ष जस्तै यस बर्ष पनि पालिकाका सवै वडाहरुमा कार्यक्रम राखिएको जानकारी दिदै उप प्रमुख खड्काले अस्पतालमा ओसिएमसि, प्रहरीमा महिला सेल र नगरपालिकामा हिंसा प्रभावित सेवा केन्द्र छ भन्ने सन्देश आम नागरिकहरुमा लैजान आवश्यक रहेको बताउदै प्रभावितहरुलाई सेवा लिन आउने वातावरण बनाउन सवैको सहयोग जरुरी रहेको बताउनु भयो । हिंसा न्यूनिकरण वडास्तरिय निगरानी समितिका संयोजकहरुले सहजिकरण गरी रहेको अभियान डिसेम्बर १० मा समिक्षा सहित सम्पन्न हुदैछ ।