बागलुङ । नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्रलाल सापकोटाले अब बस्ने सचिवालय वैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण गर्न आग्रह गर्नु भएको छ । एमालेको आसन्न महाधिवेशन र तयारी बारे बुधवार काठमाडौको हार्दिक होटलमा आयोजित अन्तरक्रियामा बोल्दै सापकोटाले विद्यादेवी भण्डारीको नविकरण भइसकेको सदस्यता रोक्ने कार्यले एमालेको हित नगर्ने बताउनुभयो ।
विद्यादेवी भण्डारीको नविकरण भइसकेको सदस्यता रोकेर पार्टीलाई हित भएको छैन, एमालेको केन्द्रीय कमिटिमा को को छौ, कस्ता कस्ता व्यक्ति मनोनित भए ? तर पूर्व उपाध्यक्ष, पूर्व राष्ट्रपतिलाई मात्र किन रोकियो ? सापकोटाले प्रश्न गर्नु भयो । मुलुकको कानुनले, पार्टीको विधानले नरोेकेको र सम्बन्धित व्यक्तिले चाहेको कुरा रोक्ने कार्य गलत छ, उहाँको भनाइ छ ।
एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादले त प्रतिस्पर्धामार्फत श्रेष्ठता भनेको छ हैन र ? प्रश्न गर्दै उहाँले विद्याको सदस्यता नविकरण गरी अध्यक्षमा प्रतिस्पर्धा गर्न दिएर हराए भयो त ? भन्नुभयो ।
प्रतिस्पर्धीलाई आउनै नदिने कार्य गलत भएको सापकोटाको भनाइ छ । नेताहरुलाई सचेत हुन आग्रह गर्दै सापकोटाले महाधिवेशनको पूवसन्ध्यासम्म सबैलाई मिलाएर लैजाने, योग्यता, क्षमताका बारेमा समिक्षा जरुरी रहेको बताउनुभयो ।
एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो, के हाम्रो पार्टीलाई हामीले जवजको मूल्य मान्यता अनुसार चलाएका छौ, हाम्रा गतिविधिहरु त्यसरी चलेका छन्, आन्तरिक जीवनमा लोकतन्त्रको अभ्यास गरेका छौ, महाधिवेशनमा छलफल गर्न पर्छ कि पर्दैन ? सापकोटाको प्रश्छ । जिल्ला अधिवेशनहरु, जनसंगठनका अधिवेशनहरु लगायत आन्तरिक जीवनमा जवज कहाँ नेर भेटिन्छ ? भ्रष्टाचारको अन्त्य र सुशासनका लागि जेन जी हरुको आन्दोलनले मात्र होइन, आम जनताले प्रश्न गरिरहेका छन्, बहुदलीय व्यवस्था आएपछि हामी सहित सत्ताको नेतृत्व गरेका दलहरुकै कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको विषयमा छलफल गर्ने कि नगर्ने भन्दै सापकोटाले निर्मम समिक्षा गर्नु पर्नेमा जोड दिनुभयो ।
एमालेलाई साच्चिकै परिवर्तनकारी शक्ति बनाउने कि ? यथास्थितिमा रमाउने, विचौलिया र दलालहरुको वरिपरी घुम्ने पार्टी बनाउने भन्ने विषयमा महाधिवेशनका प्रतिनिधिहरुलाई गंभिरताका साथ छलफल गर्न सुझाव दिनुभयो । पार्टीमा आलोचनात्मक चेत हराउदै गएकोतर्फ इंगित गर्दै सापकोटाले फरक मत राख्नेहरुलाई दुश्मनको व्यवहार गरिदै आएको स्मरण गराउनुभयो । पार्टी भित्र गलत भएको कुरा बोल्न पाइदैन, भन्न पाइदैन, आलोचना गर्नेहरु नेतृत्वका दुश्मन हुन् ? यस्तो संस्कारको अन्त्य आवश्यक रहेको सापकोटाको भनाइ छ ।
निर्वाचनमा सूर्यमा मतदान गर्ने हातले हलोमा मतदान गर्न वाध्य बनाइयो, मिल्नै नहुनेसंग मिल्ने लगायत गलत कार्यहरुको समिक्षा कहिले हुन्छ ? पार्टी नेतृत्वको निगाहमा महत्वपूर्ण जिम्मेवारी, नियुक्ती पाएकाहरुको अवस्था के छ ? कही कतै कमजोरी भएको स्वीकार सम्म गर्नु पर्दैन ? सापकोटाको प्रश्न थियो ।
सिद्धान्तमा मदन र निष्ठामा मनमोहन सम्झने नेपाली जनताका बीचमा एमालेलाई यसको मर्म, भावना र सिद्धान्त अनुसार अगाडि बढाउनका लागि यथास्थितिको अन्त्य आवश्यक रहेको सापकोटाको धारणा थियो । यथास्थितिमै बस्नका लागि महाधिवेशन एक वर्ष अगाडि सारिएको त पक्कै होइन होला ? महाधिवेशनले पार्टीलाइ रुपान्तरणसंगै पुस्तान्तरणतर्फ अग्रसर बनाउनेमा आफु विश्वस्त रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका सचिव गोकर्ण विष्ट लगायतका नेताहरुले आफ्नो धारणा राख्नु भएको थियो ।