बागलुङ । राजनीति पद प्राप्तिका लागि मात्र गर्ने पछिल्लो अवस्थामा अपवादका रुपमा छन, इन्द्रलाल सापकोटा । नेकपा एमाले निर्माणमा ४ दशक भन्दा बढी सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका सापकोटा २ पटक एमाले विभाजनमा संस्थापनमै रहेर पार्टी जोगाए ।
२०५४ सालमा एमाले विभाजन हुदा उनी बागलुङ जिल्ला कमिटिमा सचिवालय सदस्य तथा मालिका गाविसको निर्वाचित अध्यक्ष थिए, बागलुङमा रहेका नेताहरु र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु मध्ये धेरै मालेतिर खुल्दा उनी एमाले निर्माणमा खम्बा बनेर उभिए ।
२०७७ मा केपी ओलीले संसद विघटन गरेपछि त्यसको प्रतिवादमा उत्रेका सापकोटा नेकपाको विवादमा केही समय अलमलिए । तर अन्तिममा एमाले नै रोजे । गण्डकी प्रदेशसभाका सदस्य रहेका सापकोटालाई नेकपा एसमा लागेको भए प्रदेशको प्रभावकारी मन्त्री बन्ने बाटो खुल्ला थियो, धेरै नै अफर पनि आएका थिए, तर सापकोटाले मन्त्री हापेर एमाले रोजे । आजै मन्त्री भइ, भोली नै मन्त्री भई, पार्टीको केन्द्रीय सदस्यदेखि महत्वपूर्ण जिम्मेवारी दिने प्रलोभन आएकै थियो, तर पार्टी विभाजन गर्ने कार्य गलत हुन्छ, विवाद जति नै भएपनि पार्टी फुटाउनु हुदैन, भनेरै एमालेमा सक्रिय भएको हु, सापकोटाले विगत स्मरण गराए ।
आज मन्त्री पदका लागि पार्टी, पद प्रतिष्ठा सबै छोडेर दौडनेहरुको भीडमा इन्द्रलाल अपवाद नै हुन् । नेकपा एसमा गएर संघीय मन्त्री बनेकी रामकुमारी झाक्री माधव नेपालको पछि लाग्नु गल्ती भएछ, भन्दै हालै एमाले प्रवेश गर्दा संस्थापन समुहले निकै चर्चा गरिरहेको छ, तर हिजो संकटमा पार्टीमै रहेर पार्टी निर्माणमा खटिएका सापकोटाहरु खासै चर्चामा छैनन् । अहिले पनि संस्थापनले सकेसम्म पन्छाउन खोजेको जस्तो देखिन्छ ।
एमालेको २ पटक बागलुङ जिल्ला अध्यक्ष, युवा संघ नेपालको केन्द्रीय महासचिव भइ सकेर हाल केन्द्रीय कमिटि सदस्य रहेका सापकोटा एमालेको एघारौ महाधिवेशनबाट सचिव पदका आंकाक्षी छन् ।
एघारौ महाधिवेशनमा सचिव पदका लागि तयारी गरेका सापकोटाले नेताहरुसंग छलफल चलिरहेको बताए । मैले भनेर मात्रै हुदैन, मेरो चाहना सचिव बन्ने हो, नेताहरुसंग परामर्शमा छु, उनले भने । एमालेको वर्तमान संस्थापन पक्षले जनताको बहुदलीय जनवाद अनुुकुल पार्टी नचलाएको गुनासो सापकोटाको छ, हामी जवजलाई मार्गनिर्देशक सिद्धान्त मान्छौ, जवजले प्रतिस्पर्धाबाट श्रेष्ठता भन्छ, हाम्रो पार्टीका अधिवेशनहरु जवजको मर्म भन्दा पनि निर्देशित हुने गरेका छन्, एघारौ महाधिवेशनले यस्ता कुरा सच्याउनु पर्ने उनको भनाइ छ ।
मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमितता अन्त्य गरी सुशासन स्थापित गर्ने कार्यमा सत्ताको नेतृत्व गरेका दलहरुमा देखिएका कमी कमजोरी सच्याउदै मुलुकलाई आत्मनिर्भर बनाउन युवाहरुको सहभागिता बढाउनु पर्नेमा सापकोटाको जोड छ ।
नेतृत्व हस्तान्तरण हुनु पर्छ, नेतृत्व पुस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने सापकोटा फरक मत राख्नेहरुलाई पार्टी भित्रका दुश्मन ठान्ने, पेलेर जाने प्रवृतिले पार्टीलाई एकमना एकताका साथ अगाडि बढाउन समस्या हुन्छ, फरक मतलाई सम्मान गर्न सकेमा मात्रै पार्टीमा देखिएका साना तिना समस्या सहज रुपमा समाधान गर्न सकिने सापकोटाले बताए ।