• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

संविधानसभा सदस्य पौडेल निर्वाचनमा उमेदवार नबन्ने

  • २०८२ पुष १, मंगलवार

 बागलुङ । नेपाली कांग्रेस बागलुङका पूर्व सभापति प्रकाश शर्मा पौडेलले आगामी फागुन २१ को निर्वाचनमा उमेदवार नहुने बताउनु भएको छ । संविधानसभाका सदस्य समेत रहेका पौडेलले जिल्ला कार्यसमितिको वैठकमा आफुलाई उमेदवार सिफारिस नगर्न आग्रह गर्नु भएको हो ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ पौडेल सहित १० जनाको नाम सिफारिस भएको थियो । केन्द्रले एक जना महिला सहित बढीमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिएको छ, यहाँ उमेदवार हुन चाहने सबैको नाम माथि पठाउने निर्णय भएपछि आफ्नो नाम नपठाउन आग्रह गरेको पौडेलले बताउनुभयो । चाहना राख्नेहरुबाट उमेदवारको अनुभव, योग्यता, क्षमता, पछिल्लो समयमा युवाको मनोविज्ञान बुझेको लगायतमा ध्यान दिएर छनोट गरी सकेसम्म एक जना मात्रै नसके ३ जना पठाउ भन्ने मेरो सुझाव थियो, पौडेलले भन्नुभयो,–‘सेलेक्सन गर्ने कुरामा वैठकमा निर्णय हुन सकेन, कलेक्सन पठाउने कुरामा मेरो समहति भएन र नाम नपठाउन भनेको हुँ ।’

आगामी निर्वाचनमा उमेदवार नबन्ने नै हुनु भयो त ? भन्ने प्रश्नमा पौडेलले हास्दै भन्नुभयो, जिल्लाबाट उमेदवार नै सिफारिस नभएपछि उमेदवार बन्ने कुरा कसरी होला र ? यस्तै क्षेत्रीय समितिबाट सिफारिस भएका जैमिनी नगरपालिका निवासी नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति दल बहादुर श्रीसले पनि आफ्नो नाम केन्द्रमा नपठाउन जिल्ला समितिलाई आग्रह गर्नु भएको छ ।

क्षेत्रको वैठकमा चाहना गरेको थिए, मेरै वडाबाट भीम श्रीस दाईले पनि चाहना व्यक्त गर्नु भएको छ, उहाँ राजनीतिमा निरन्तर दुख गरेको र अवसर नपाएको व्यक्तिसंगै मेरो नाम पठाउन उपयुक्त नहुने ठानेर फिर्ता लिएको हु, श्रीसले भन्नुभयो । संविधानसभा सदस्य पौडेल र क्षेत्रीय उपसभापति श्रीसले जिल्ला कार्यसमितिको वैठकमा आफुहरुको नाम माथि नपठाउन आग्रह गरेपछि बाँकी ८ जनाको मात्र नाम सिफारिस गरिएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ पौडेल र श्रीस सहित किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्यलाई सिफारिस गरेको थियो । यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ पदम बहादुर पुन, पार्वती आचार्य, डा.राम बहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेर बहादुर विश्वकर्मा र हरिप्रसाद श्रेष्ठलाई क्षेत्रको सिफारिस अनुसार माथि पठाउने निर्णय गरिएको सचिव शर्माले बताउनुभयो । कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि इन्द्रराज पौडेल र विष्णु पौडेल (दारी) लाई सिफारिस गरेको छ ।

  • २०८२ पुष १, मंगलवार